आज विश्व क्षयरोग दिवस
काठमाडौ, १०चैत । ‘छुटेका १० हजार क्षयरोगका बिरामीलाई खोजौं, समुदायमा क्षयरोग फैलनबाट रोकौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व क्षयरोग दिवस मनाइंदैछ । दिवसको अवसरमा क्षयरोगका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसकारी संस्थाले बाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन र क्षयरोग लाग्न नदिने उपायका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् ।गरीबको रोगका रुपमा चिनिने क्षयरोगबाट नेपालमा वर्षेनी ४५ हजार नागरिक संक्रमित हुने गरेका छन् । त्यसमध्ये हरेकवर्ष १० हजार क्षयरोगी उपचार सेवाबाट बाहिर रहने गरेका छन् ।
यसैबीच सरकारले आज मोबाइल भ्यान सहितको नयाँ सेवा सार्वजनिक गर्दैछ । दिउँसो प्रज्ञा भवनमा सार्वजनिक गरिने मोबाइल भ्यानमा खकार परीक्षण गर्ने मेसिन, प्राविधिक कर्मचारी रहने र स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा देशका विभिन्न ठाउँमा पुगेर खकार परीक्षण गर्ने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तले जानकारी दिए ।नेपालमा हरेकवर्ष ४५ हजार नयाँ रोगी थपिएपनि मात्र ३५ हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन । नेपालमा अहिले ८० हजार ५ सय क्षयरोगी रहेको सरकारी तथ्याङ्क छ । गरिबी, चेतनाको अभाव र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको पहुँच नपुग्ने भएकाले बिरामी स्वास्थ्य सेवाको पहुँचमा आउन नसकेको डा. पन्तले बताए ।
ग्रामीण क्षेत्रमा क्याम्पहरु संचालन गर्ने, खकार परीक्षणका लागि ल्यावको व्यवस्था गर्ने, ल्याब नभएका ठाउँबाट कुरियर्स गरेर भएपनि खकारको परीक्षण गर्ने, जनचेतना जगाउने र आर्थिक अवस्था सुधार्नका लागि कार्यक्रम ल्याएमा मात्र क्षयरोगी स्वास्थ्य सेवाको पहुँचमा आउने चिकित्सकहरु बताउँछन ।
मानिस दुव्लाउँदै जाने, बेलुकीपख ज्वरो आउने, खाना रुची नहुने, छाती दुख्ने, रगत मिसिएको खकार आउने लगायतका लक्षण देखिएमा क्षयरोग लागेको हुनसक्छ । तर यस्ता लक्षण बालबालिकामा प्रष्ट नदेखिने भएकाले सहजै पत्ता लगाउन नसकिने कान्ति बाल अस्पतालका चिकित्सक रामहरि चापागाईले बताए । शरीरमा रोगसंग लड्ने क्षमता कम भएकालाई यो रोगले आक्रमण गर्छ ।