नेपाल पोलियोमुक्त देश

२०७० चैत्र १३ गते, बिहीबार


काठमाडौ, १३ चैत I तीन वर्ष यता पोलियोका एक जना पनि रोगी नभेटिएपछि नेपाल सहित दक्षिणपूर्वी एशियाका ११ देशलाई आज पोलियोमुक्त क्षेत्र घोषणा गरिदैछ । विश्व स्वास्थ्य संगठनको विज्ञ समितिको बैठकले दक्षिणपूर्वी एशियाली देशहरुमा पोलियोको पछिल्लो स्थितिको समीक्षा गरेर पोलियो मुक्त घोषणा गर्न लागेको हो । दक्षिणपूर्वी एशियाली क्षेत्रलाई पोलियोको शून्य प्रमाणिकरण घोषणा गरेपनि चुनौती भने बाँकी नै रहेको विज्ञहरुले बताएका छन् । यो क्षेत्रका पाकिस्तान र अफगानिस्तान अझै पनि पोलियोको महामारीबाट मुक्त नभइसकेकाले रोग फैलिने खतरा रहेको बालस्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवालीले बताए ।
पाकिस्तान र अफगानिस्तान सहित विश्वमा अहिले ७ वटा देशहरु पोलियोको जोखिममा छन् । नेपालीहरु ती देशमा जाने र ती देशका नागरिकहरु पनि नेपालमा आउने भएकाले पोलियो सर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर विशेष सतर्कता अपनाउन लागिएको ज्ञवालीले जानकारी दिए ।
पोलियोको जोखिममा रहेका देशका नागरिक नेपालमा आउँदा वा नेपाली नागरिक ती देशमा जाँदा चार हप्ता अगाडी नै पोलियोको एक मात्रा खानैपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको छ । त्यसका लागि बाहिरी देशका नागरिकले भिसाको प्रक्रिया शुरु गर्दा पोलियो थोपा खाएको चार हप्ता पुगिसकेको भनेर नेपाली दुतावासले प्रमाणित गर्नुपर्नेछ भने नेपालमा भने जिल्ला जनस्वास्थ्य कार्यालयलाई प्रमाणिकरणको जिम्मेवारी दिइनेछ ।
यसअघि पोलियो खोपको सबै मात्रा पुरा गरिसकेका जुनसुकै उमेरका मानिसले पनि जोखिमयुक्त देशमा जाँदा थप एक मात्रा लिनैपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवालीले बताए । उनका अनुसार विश्व स्वास्थ्य संगठनले पोलियो मुक्त घोषणा गर्ने कार्यक्रममा सहभागी हुन भारत गएका स्वास्थ्यमन्त्री फर्केपछि यो प्रावधानलाई अन्तिम रुप दिइनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार