वायु प्रदूषणले बिकरालरुप लिदै
काठमाडौँ । विश्व स्वास्थ्य संगठनको नयाँ तथ्याङ्कले विश्वमा बर्सेनि करिब ७० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको देखाएको छ । वायु प्रदूषण सम्बन्धी यसअघिको तथ्यलाई नयाँ तथ्याङ्कले चुनौति दिएको छ ।
यसअघि, वायु प्रदूषणले गर्दा बर्सेनि लगभग ३० लाख मानिसको मृत्यु हुने गरेको बताइएको थियो । विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य, वातावरण तथा सामाजिक स्वास्थ्य निर्धारक विभागका निर्देशक डा. मारिया नायरले भन्नुभएको छ– वायु प्रदूषणको खतरा पहिले सोचिए वा सम्झिएको भन्दा धेरै ठूलो छ, विशेषगरी मुटु रोग मस्तिष्कघातमा, त्यसैले हामीले सास लिने हावा स्वच्छ पार्नमा ध्यान दिइनु जरुरी भएको छ ।
वायु प्रदूषणले श्वास प्रश्वासको रोग विकसित हुनमा भूमिका खेल्छ तर विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले वायु प्रदूषणको प्रभाव मुटुको रोग र क्यान्सरमा पहिले सोचिए भन्दा बढी भएको देखाउँछ । पहिलेको भन्दा नयाँ तथ्याङ्क बढी सही भएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले दक्षिण एसिया र पश्चिमी प्रशान्त क्षेत्रका न्यून र मध्यम आय भएका देशमा वायु प्रदूषण अधिक रहेको जनाएको छ । ती देशमा वायु प्रदूषणले हुने कुल मृत्युमा ३३ लाख जनाको मृत्युमा घर भित्रको वायु प्रदूषणले र २६ लाख मानिसको मृत्यु बाहिरको वायु प्रदूषणले हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सन् २०१२ मा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा विश्व स्वास्थ्य संगठनले विश्वमा ४३ लाख मानिसको मृत्युमा कोइला, दाउरा र बायो स्टोभमा खाना पकाइनुुलाई जिम्मेवार ठानेको छ । यसैगरी, विश्वमा बाह्य वायु प्रदूषणले बर्सेनि ३७ लाख मानिस मर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणका कारण उत्पन्न हुने शारीरिक विकार पनि वर्गीकृत गरेको छ ।
बाह्य वायु प्रदूषणले हुने मृत्युः
१. इसेमिक मुटु रोग– ४०%
२. मस्तिष्कघात– ४०%
३. क्रोनिक अब्सट्रक्टिव पल्मोनरी डिजिज– ११%
४. फोक्सोको क्यान्सर– ६%
५. बालबालिकामा तल्लो श्वास प्रश्वास प्रणालीको सङ्क्रमण– ३%
आन्तरिक वायु प्रदूषणले हुने मृत्युः
१. मस्तिष्कघात– ३४%
२. इसेमिक मुटु रोग– २६%
३. क्रोनिक अब्सट्रक्टिव पल्मोनरी डिजिज– २२%
४. बालबालिकामा तल्लो श्वास प्रश्वास प्रणालीको सङ्क्रमण– १२ %
५. फोक्सोको क्यान्सर– ६ % एजेन्सी