नमुना बन्दै अर्थोपेडिक अस्पताल
काठमाडौँ, २ जेठ ।सन् १९९८ मा नेपाल अपाङ्ग सङ्घ र रोटरी क्लब अफ पाटनको सहकार्यमा बेल्जियम रोटरी क्लबका लुक सालेन्सको सहयोगमा २० श्ययाबाट काठमाडौँको जोरपाटीमा साढे १० रोपनीमा स्थापना भएको नेपाल अर्थोपेडिक अस्पताल नमुना अस्पताल बनेको छ ।यस अस्पताल सेवासुविधा र व्यवस्थापनका दृष्टिले मुलुकका निजी र सरकारी अस्पतालको तुलनामा कुनै कुरामा कम छैन । स्थापनाको १० वर्षमा आत्मनिर्भर हुने लक्ष्यका साथ सुरु गरिएको भए पनि उचित व्यवस्थापन र चिकित्सक एवम् कर्मचारीको इमान्दारपूर्ण सेवाभावले अस्पताल आठ वर्षमै आत्मनिर्भर बन्न पुगेको अस्पतालका प्रशासन प्रमुख श्याम रुपाखेती बताउँछन् ।
सुरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लबहरुको पूर्ण सहयोगमा स्थापना गरिएको अर्थोपेडिक अस्पतालले हाल आफ्नै आम्दानीले एक सय श्यया विस्तार गरी दैनिक १५० देखि २०० हाडजोर्नी–नसाका बिरामीलाई बहिरङ्ग सेवा र १० जनाको शल्यक्रिया गर्दै आएको छ ।
अस्पतालमा अपाङ्ग सङ्घका दुई, रोटरी क्लब अफ पाटनका दुई र सहयोग संस्थाका तर्फबाट दुईजनाको व्यवस्थापन समिति रहेको छ भने १४५ पूर्णकालीन चिकित्सक र कर्मचारी कार्यरत छन् । नेपालको एक मात्र हाडजोर्नी–नसाको अस्पतालका रुपमा परिचित अर्थाेपेडिक अस्पतालमा विशेषगरी मध्यम र निम्नवर्गका सर्वसाधारण मुलुकभरबाट उपचारका लागि आउने गरेको प्रमुख रुपाखेती बताउँछन् ।बहिरङ्ग र शल्यक्रियामा अन्य निजी अस्पतालको तुलनामा सस्तो रहेको अर्थाेपेडिक अस्पतालले आफ्नो वार्षिक बजेटको १० देखि १५ प्रतिशत रकम असहाय र निम्नआयका बिरामीको सहयोगमा खर्च गर्दै आएको अस्पतालको भनाइ छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले प्रत्येक वर्षमा दुईपटक मुलुकमा दुर्गम भेगमा पूर्ण निःशुल्क रुपमा हाडजोर्नी–नसाको शल्यक्रिया शिविरसमेत सञ्चालन गर्दै आएको छ । यस वर्ष मात्र अस्पतालले शिविर सञ्चालन गरी जुम्लामा ४४ र भोजपुरमा ६६ जनाको निःशुल्क शल्यक्रिया गरेको अस्पतालको तथ्याङ्क रहेको छ ।कहिलेकाहीँ दाताबाट सहयोग पाए पनि अन्य अवस्थामा आफ्नै स्रोत र आम्दानीबाट सञ्चालित अस्पतालले सञ्चालनका क्रममा यदाकदा आर्थिक सङ्कटसमेत व्यहोर्दै आएको छ । आर्थिक सङ्कट आइपर्दा कतिपय अवस्थामा चिकित्सक र कर्मचारीहरुले केही दिनको तलबसमेत नलिएर अस्पताललाई सहयोग गरेको प्रमुख रुपाखेती बताउँछन् ।स्थपनाकालदेखि अस्पतालले हालसम्म हाडजोर्नी–नसाका २३ हजार ५०० भन्दा बढी शल्यक्रिया गरिसकेको छ भने २५ हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरिसकेको छ ।