केन्द्रीय पुस्तकालय विद्युतीय पुस्तकालय बन्दै
काठमाडौँ, २ जेठ। त्रिवि केन्द्रीय पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । नेपालकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिवि केन्द्रीय पुस्तकालयलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै लैजाने लक्ष्यका साथ पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रुपमा विकास गर्न लागिएको हो । त्रिविको स्थापनासँगै २०१६ सालमा काठमाडौंको त्रिपुरेश्वरमा स्थापना गरी सञ्चालनमा ल्याइएको पुस्तकालयलाई २०२० सालमा कीर्तिपुरमा सारिएको थियो ।स्थापनाका समयमा एक हजार २०० पुस्तक राखेर आफ्नो सेवा सुरु गरेको पुस्तकालयमा हाल विभिन्न विषयसँग सम्बन्धित चार लाख पुस्तकका साथै विभिन्न विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल तथा पत्रपत्रिका छन् । पुस्तकालयले विभिन्न अप्राप्य पुस्तकको माइक्रोफिल्मिङ कार्यसमेत गरिसकेको छ ।पुस्तकालयको सेवालाई समयसापेक्ष रुपमा सहज तथा प्रभावकारी गराउने पुस्तकालयको योजनाअनुसार पुस्तकालयलाई विद्युतीय प्रणालीको प्रयोग गरी विद्युतीय पुस्तकालयका रुपमा विकास गर्नका लागि काम भइरहेको पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गानाले जानकारी दिए ।
नेपालको बढ्दो विद्युत्भार कटौतीका कारण विगतमा पुस्तकालयको सेवा सञ्चालनमा कठिनाइ भोगेको सो पुस्तकालयमा हाल १२ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएका कारण सेवा प्रवाहमा निकै सहज भएको छ । सोलार प्यानलको सञ्चालनका कारण पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रुपमा लैजाने योजनालाई समेत अघि बढाउन सम्भव भएको पुस्तकालय प्रमुख ढुङ्गानाको भनाइ छ ।
उक्त योजनाअनुसार पुस्तकालयले आफ्ना सदस्यका लागि विद्युतीय परिचयपत्र वितरण सुरु गरिसकेको छ । उक्त परिचयपत्रको प्रयोगसँगै पुस्तकालय प्रयोगकर्ता सदस्यका सम्पूर्ण विवरण डिजिटल प्रविधिमा सुरक्षित रहने र त्यसले विद्युतीय पुस्तकालयको योजनालाई थप सहयोग पुर्याउने पुस्तकालय प्रशासनको भनाइ छ ।
पुस्तकालयलाई डिजिटल प्रविधिले युक्त अनुसन्धान पुस्तकालयसमेतका रुपमा विकास गर्ने लक्ष्यअनुरुप पछिल्लो समयमा अनुसन्धान कक्ष स्थापना गरिसकिएको ढुङ्गानाले जानकारी दिए । विद्यावारिधिलगायत प्रयोजनमा अनुसन्धातालाई अध्ययनअनुसन्धानका लागि छुट्टै कक्षको स्थापना गर्ने लक्ष्यअनुरुप स्थापित कक्ष अनुसन्धाताका लागि निकै उपयोगी महसुस गरिएको छ । केन्द्रीय पुस्तकालयलाई समयसापेक्ष रुपमा विद्युतीय पुस्तकालयका रुपमा विकास गर्ने योजनाले पुस्तकालयको नियमित प्रयोगकर्तालाई उत्साहित बनाएको नेपाली केन्द्रीय विभाग, त्रिवि कीर्तिपुरका प्रा डा कृष्णप्रसाद घिमिरेको भनाइ छ ।
उनले नेपालका अन्य पुस्तकालयमा नपाइने विभिन्न अप्राप्य पुस्तक त्रिवि केन्द्रीय पुस्तकालयमा पाइनु यहाँको महत्वपूर्ण विशेषता भएको बताए । पुस्तकालयमा आउने पाठकले पनि समयसापेक्ष रुपमा विद्युतीय पुस्तकालयको अपेक्षा गरेको पुस्तकालयका कर्मचारी गेवनाथ न्यौपाने बताउँछन् । पुस्तकालयको सेवालाई अझै प्रभावकारी बनाउने कुरामा विश्वविद्यालय निरन्तर क्रियाशील भएको उनले जानकारी दिए ।