आज विश्व धुमपान रहित दिवस – धुम्रपानले बर्सेनि ६०लाख मान्छे मर्छन्
काठमाडौं, १८ जेठ । आज मे ३१ अर्थात विश्व धुमपान रहित दिवस । संसारभर विभिन्न कार्यक्रम गरी यो कार्यक्रम मनाइँदै छ । “सूर्तीमा कर बढाऔं, मृत्यु र रोगलाई घटाऔं” भन्ने नारासहित यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सदस्य राष्ट्रहरुको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर बर्सेनि करिब ६० लाख व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थ सेवनले हुने गरेको छ । त्यसमध्ये सूर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको नजिक रहेकै कारणले मृत्यु हुनेको सङ्ख्या ६ लाख रहेको छ । सूर्तीजन्य पदार्थ सेवनले नेपालमा भने बर्सेनि १६ हजार व्यक्तिको मृत्यु हुने सरकारी तथ्याङ्क छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट हरेक वर्ष मृत्यु हुनेको सङ्ख्या ८० लाख पुग्ने अनुमान गरेको छ । नेपालमा आधाभन्दा बढी पुरुष सूर्तीजन्य पदार्थको अम्मलमा रहेको तथ्याङ्क छ । नेपालमा ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिला सूर्तीजन्य पदार्थको अम्मल रहेको पाइन्छ । धुमपानको धुवाँमा निकोटिन तथा टारको मात्रा दोब्बर हुने भएाकले स्वास्थ्यका लागि निकै हानिकारक मानिएको छ । धुमपान गर्नेहरूलाइृ मुटु, रोग, दम र क्यान्सर हुने सम्भावना बढी हुने गरेको छ ।