शुल्कवृद्धिको विरोधमा निजी विद्यालय बन्द
काठमाडौँ । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले निजी विद्यालयमा मनोमानीरुपमा वृद्धि गरिएको शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको भन्दै आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले आज पत्रकार सम्मेलन गरी शुल्क वृद्धि गरिएका शिक्षण संस्थाको लेखाशाखामा तालाबन्दी गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै यही असोज ३ र ५ गते निजी विद्यालयमा हडताल गर्ने घोषणा गरेको छ ।
सङ्गठनका अध्यक्ष शरद रसाइलीले गत जेठ ७ गते शिक्षा विभाग, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) बीच वृद्धि गरिएको शुल्क फिर्ता र समायोजन गर्ने सहमति पालना नभएको बताए ।उनले निजी विद्यालयका सञ्चालकले अकूत सम्पति कमाएर सभासद् मन्त्री किन्ने साधनका रुपमा शिक्षा क्षेत्रलाई दुरुपयोग गरेको आरोप लगाए । सङ्गठनका कोषाध्यक्ष लालबहादुर तामाङले शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने बताए ।