स्वाइन फ्लुको संक्रमण बढ्दै

२०७१ फाल्गुन २८ गते, बिहीबार

काठमाडौं, २८ फागुन । स्वाइन फ्लुको संक्रमणका कारण काठमाडौंमा ज्यान गुमाउने संख्या ३ पुगेको छ । स्वाइन फ्लुका कारण एक महिला र २ पुरुषको ज्यान गएको हो । स्वाइन फ्लु लागेका उनीहरुले केएमसी, किस्ट र ओम अस्पतालमा उपचार गराएका थिए । तर ढिला गरी स्वास्थ्य जाँच गराउन गएकाले उपचार सम्भव नभएको डाक्टरहरुले बताएका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डाक्टर गीता शाक्यका अनुसार स्वाइन फ्लु लागेका उनीहरुले थलिएपछि मात्रै जाँच गराएका थिए । समयमा जाँच गराए, स्वाइन फ्लुबाट बच्न सकिन्छ । स्वाइन फ्लुको संक्रमण फैलिंदै गएपछि अहिले स्वास्थ्य जाँच गराउनेको संख्या ह्वात्तै बढेको छ । गएको जनवरी महिना यता झण्डै १ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । त्यसमध्ये १ सय ७६ जनामा संक्रमण पाईएको डाक्टर शाक्यले बताए । स्वाइन फ्लुको शंकामा स्वास्थ्य परीक्षण गराउनेको संख्या बढिरहेपनि वास्तविक विरामी भने ढिला गरी मात्र जाँच गराउन आउने गरका उनको भनाई छ । उनका अनुसार स्वाइन फ्लुका बारेमा कोहि आवश्यक्ता भन्दा बढी सचेत छन् भने कोहि सचेत नै छैनन । जसले गर्दा स्वाइन फ्लुको संक्रमण बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वास्थ्य परीक्षण गराउनेमा काठमाण्डू उपत्यकाका ६० प्रतिशत छन् भने अरु बाहिरी जिल्लाका छन् । यसैबीच स्वाईन फ्लु लागेका विरामीको उपचार गराईरहेका अस्पतालले सतर्कता अपनाएका छन् । उनीहरुले अस्पतालका सबै कर्मचारीलाई माक्स लगाउन अनिवार्य गरेको बताएका छन् । रुघाखोकी लागेका बेला भिडभाडमा नगए र माक्स लगाएर हिँडे यो रोगको संक्रमणबाट बच्न सकिन्छ ।
यसैगरी , चितवन जिल्लामा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको छ । यसअघि जिल्लामा ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो ।
भरतपुरमा उपचार गराएकामध्ये थप चारजनामा समेत गरी स्वाइन फ्लु लाग्नेको संख्या १० पुगेको छ । १० मध्ये दुई नवलपरासी र एक गोर्खा जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी भए पनि अरू सबै चितवनकै रहेका छन ।
जसमा आठ महिला रहेको केसीले बताए । अहिलेसम्म जिल्लाका बिरामीमध्ये १२६ को परीक्षणमा १० मा फ्लु पुष्टि भएको र अझै केहीको रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु