डा. केसीको आमरण अनशनले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बन्दै
काठमाडौ,१७ चैत्र ।- नेपाल चिकित्सक संघले ९ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधन नगरे बुधबारदेखि देशभरका अस्पताल ठप्प पार्ने चेतावनी दिएको छ । ‘मंगलबारसम्म सरकारले कुनै निर्णय गरेन भने बुधबारदेखि चिकित्सक संघ देशभरका अस्पताल ठप्प पार्न बाध्य हुनेछ,’ संघका अध्यक्ष डा. अञ्जनी झाले बताए ।त्रिवि शिक्षण अस्पताल हातामा अनशनरत केसीको स्वास्थ्य अत्यन्त जटिल हुँदै गएकाले कडा रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता भएको उनले बताए । ‘जायज माग पूरा गर्न बारम्बार गरेको आग्रहलाई बेवास्ता गर्ने सरकार २४ घण्टाभित्र संवेदनशील नभए मुलुकका २६ हजार स्वास्थ्यकर्मीले काम छाड्ने छन्, यसबाट उत्पन्न सबै असहज परिस्थितिको जिम्मेवार सरकार हुनेछ,’ झाले भने, ‘सरकारले यसअघि संघसँग गरेका लिखित सम्झौता कार्यान्वयन नगर्दा डा. केसी अनशन बस्नुपर्ने स्थिति आएको हो ।’
डा. केसीको माग सरकारले अविलम्ब सम्बोधन गर्न दबाब दिने उद्देश्यले संघले मंगलबारदेखि देशव्यापी रिले अनशन सुरु गर्दैछ । संघकै आह्वानमा सबै सरकारी र निजी अस्पतालका चिकित्सकले सोमबारदेखि कालोपट्टी बाँधेर अस्पतालबाहिर बहिरंग सेवा दिन थालेका छन् । हालसम्म बिरामीलाई बाधा नहुने गरी विरोध कार्यक्रम सञ्चालन गर्दै आएको संघले यसअघि दिएको २४ घण्टे अल्टिमेटमलाई सरकारले टेरेको छैन । ‘२४ घण्टे अल्टिमेटमलाई सरकारले बेवास्ता गर्यो,’ संघका महासचिव डा. मुक्तिराम श्रेष्ठले भने, ‘सरकार संवेदनशील छैन, हामीले नचाहँदा नचाहँदै स्वास्थ्य संस्था बन्द गर्ने अन्तिम हतियार पनि प्रयोग गर्न बाध्य भएका छौं ।’सरकार संवेदनशील नभएकाले सशक्त आन्दोलन गर्नुपर्ने बाध्यता उत्पन्न भएको संघका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसीले बताए । ‘यसबाट उत्पन्न हुने स्थितिको जिम्मेवार स्वयं सरकार हुनेछ,’ उनले भने ।
यसैबीच सरकारी चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजालले हाल जारी चिकित्सक संघको विरोध कार्यक्रममा सहभागी हुने निर्णय गरेको बताए । सरकार संवेदनशील भएर माग सम्बोधन नगरे बुधबारदेखि बहिरंग उपचार सेवा प्रभावित हुने गरी विरोधमा ओर्लनुपर्ने स्थिति आउन सक्ने चेतावनी उनले लिए ।