आज अटिजम सचेतना दिवस

२०७१ चैत्र १९ गते, बिहीबार

काठमाडाैं,१९ चैत । आज अटिजम सचेतना दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । बौद्धिक अपाङ्गता अन्तर्गत पर्ने अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष अप्रिल २ तारिखमा यो दिवस मनाइने गरिन्छ ।दिवसको अवसरमा अटिजम केयर नेपालले बेलुकी पाँच बजे अटिजमको रंगको रुपमा लिइने नीलो बत्ति बाल्ने, अटिजम भएका बालबालिकाले बनाएका सामानको प्रदर्शन गर्ने, अटिजम भएका बालबालिकाका आमाले गीत गाउने लगायतका कार्यक्रम गर्न लागेको छ ।
अटिजमलाई रोगको रुपमा नभएर शरीरको विशेष अवस्था रुपमा लिइन्छ । यसको उपचार नभएकोले बालबालिकाको व्यवहार परिवर्तन गर्ने र उनीहरुको क्षमता बुझेर उनीहरुलाई प्रेरित गर्नु पर्ने विज्ञहरुले बताएका छन् । अटिजम केयर नेपालका अध्यक्ष डाक्टर सुनिता मलेकु अमात्यले बालबालिकाको आवाज नआउने, बोलेको कुरा ठेगान नहुने, त्यसै त्यसै रुने, हाँस्ने, जिद्दी गर्ने लगायतका बानी हुने भएपनि यो मानसिक समस्या भने नभएको बताए ।
उनका अनुसार अटिजम भएका बालबालिकामा एकदमै चकचक हुने वा निष्क्रिय हुने, आफैंले केहि गर्न नसक्ने, अरुसँग नखेल्ने, बोलाए पनि जवाफ नदिने, नसुनेको जस्तो गर्ने, केहि पनि काम राम्ररी गर्न नसक्ने, एउटै कुरा दोहोर्याएर बोल्ने, घाउ भएपनि प्रतिक्रिया नदिने, हात खुट्टा चलाइरहने लगायतका समस्या हुन्छ ।
त्यस्ता बालबालिकाका अभिभावकले आफ्नो बालबालिकाको अवस्था नबुझेर सुस्त मनस्थिती भयो भनेर उपचार गराउने भएकोले पनि समस्या हुने गरेको डाक्टर अमात्यले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु