धेरै श्रीमती हुनु मुटुका लागि खतरनाक
काठमाडौँ । दुइ स्वास्नीको पोइ, कुना बसी रोइ भन्ने उखान छ नेपालीमा । वास्तवमा एउटा भन्दा बढि श्रीमती हुनु पुरुषको सामाजिक, सांस्कृतिक, शारीरिक तथा मनोवैज्ञानिक र आर्थिक हिसाबमा पनि उपयुक्त मानिँदैन । आखिर यो सत्यलाई वैज्ञानिकहरुले समेत प्रमाणित गरेका छन् । विवाह अर्थात् श्रीमतीको उपस्थितिले पुरुषको दीर्घजिवनमा सहयोग पूराउँछ । तर एकभन्दा बढि श्रीमती हुनु पुरुषको स्वास्थ्यको लागि निकै खराब पक्षको रुपमा रहेको अध्ययनले देखाएको छ । एक भन्दा बढि श्रीमती हुने अर्थात् पोलीग्यामीले पुरुषको स्वास्थ्यमा गर्ने असरका विषयमा गरिएको अध्ययन अनुसार ४ वटासम्म श्रीमती हुने पुरुषमा मुटुसम्बन्धि रोगको जोखिम ५ गुणाले बढ्दछ ।
एसिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजी कंग्रेसमा प्रस्तुत गरिएको शोध प्रतिवेदन अनुसार साउदी अरेयिबा तथा युएइका विभिन्न ५ वटा अस्पतालमा भर्ना भएका मुटुरोगका विरामी पुरुषहरुमा यस्तो अध्ययन गरिएको हो । अध्ययनमा सहभागी ६ सय ७८ जना विवाहित पुरुषहरुको औषत उमेर ५९ वर्ष रहेकोमा ती मध्ये ५६ प्रतिशतमा मधुमेह, ५७ प्रतिशतमा उच्च रक्तचापका साथै ४५ प्रतिशतमा विगतमा मुटु तथा रक्तनली सम्बन्धि रोग रहेको पाइयो । अध्ययनमा सहभागी मध्ये ६८ प्रतिशत पुरुषका एकमात्र श्रीमती थिए, १९ प्रतिशतका दुइवटी तथा १० प्रतिशतका ३ र तीन प्रतिशतका ४ वटा श्रीमती रहेको पाइयो ।
त्यसक्रममा एक भन्दा बढि श्रीमती हुने पुरुषहरु तुलनात्मक रुपमा बढि बुढापाका, ग्रामीण क्षेत्रमा बस्ने, उच्च आय भएका तथा मुटुको बाइपास सर्जरी गरेका थिए । धेरै श्रीमती हुने पुरुषहरु आर्थिक रुपमा बढि दबाबमा रहने र त्यसका लागि थप जागिर तथा काममा दौडिनु पर्ने तथा सामाजिक र मानसिक रुपमा पनि तनावमा रहने अवस्था रहने भन्दै शोधकर्ताले एकभन्दा बढि श्रीमती हुने पुरुषहरुमा कोरोनरी आर्टरी डिजिजको जोखिम ४।६ गुणा तथा मुटुको बायाँ धमनी खुम्चिने समस्या ३।५ गुणा बढि रहेको बताए । त्यसका साथै मुटुको भित्ता तथा रक्तनलीको भित्ता बाक्लो तथा कडा हुने समस्या समेत बढि श्रीमती हुने पुरुषमा उच्च रहेको पाइएको शोधकर्ताको निष्कर्ष छ ।