भूकम्पले खोटाङका एक सय २२ विद्यालय ध्वस्त

२०७२ बैशाख २९ गते, मंगलवार

काठमाडौं, २९ बैशाख । विनाशकारी भूकम्पले खोटाङका एक सय २२ वटा विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार एक सय २२ विद्यालयको दुर्इ सय ५५ कोठा पूर्णरुपमा ध्वस्त भएको हो ।उक्त विद्यालयमा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए । क्षतिको विवरण आउने क्रम जारी रहेको यसको सङ्ख्या अझै बढ्न सक्ने भट्टरार्इले बताए ।पूर्णरुपमा ध्वस्त भएका एक सय २२ वटा विद्यालयबाहेक अन्यको छत, पर्खाल, शौचालय, खानेपानीको ट्याङ्की लगायतमा क्षति पुगेको छ । उनका अनुसार भानुभक्त माध्यमिक विद्यालय माक्पा, छेलिङ प्राथमिक विद्यालय राखाबाङदेल, चन्द्र प्राथमिक विद्यालय सुङदेल र कालिका प्राथमिक विद्यालय बाँसपानीका शौचालयमा क्षति पुगेको छ ।
तत्काल भवनहरुको मर्मतसम्भार नगरी विद्यालयमा पठनपाठन सुरु गर्दा २० हजार विद्यार्थी प्रत्यक्षरुपमा जोखिममा बसेर अध्ययन गरिरहेका छन् । जिल्लाका चार सय ९३ सामुदायिक विद्यालयमा करिब ७५ हजार विद्यार्थी अध्ययनरत छन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]