६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाइदै
काठमाडौ, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तरगत आज र भोलि देशभभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । देशका ७५ वटै जिल्लामा आज र भोलिका लागि यो कार्यक्रम तय गरेको मन्त्रालयअन्तर्गत बालस्वास्थ्य महाशाखाले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार यसपटक ६ महिनादेखि ५ वर्षसम्मका करिब २७ लाख बालवालिका र ती मध्य करिव २३ लाख १ वर्षदेखि ५ वर्षसम्मका बालवालिकाहरुलाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । देशभरीका सवै नगरपालिका तथा गाविसका वडाहरुमा स्थानिय महिला स्वास्थ्य स्वयमसेविकाहरुले वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको पनि महाशाखाले जनाएको छ । भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानका कारण हरेक वर्ष करिव १२ हजार बालबालिकाहरुलाई अकाल मृत्युवाट बच्न सहयोग पुग्दै आएको राष्ट्रसंघिय बालकोष (युनिसेफ) को एक अध्ययनले देखाएको छ ।
बाल मृत्युदर घटाउने, भिटामिन ए को कमीका कारण हुने आखा सम्बन्धि रोगहरुको रोकथाम गर्ने र भिटामिन ए को कमीलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने उद्देश्यका साथ सञ्चालन भइरहेको बालस्वास्थ्य महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।