आज विश्व एड्स दिवस

२०७२ मंसिर १५ गते, मंगलवार

काठमाडौ, १५ मंसिर । आज डिसेम्बर १ विश्व एड्स दिवस, प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि मनाउने गरिएको छ । यस वर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराका साथ आज एड्स दिवस मनाईदैछ । दिवसको अवसरमा सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पु¥याई सबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताएका छन । ओलीले औषधि उपचार सेवा एन्टिरेट्रोभाइरल (एआरभी)लाई विस्तार गर्दै सङ्क्रमण देखिएका सबै सङ्क्रमितको घरदैलोमा पु¥याउन हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन । दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि नेपालले थुप्रै समस्याको सामना गर्नुपरेको बताउँदै उहाँले अबका दिनमा राष्ट्रिय एड्स परिषद् पनि थप सबल हुने बताए ।
त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले पनि आफ्नो सन्देशमा नेपालले हालै प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले पनि एचआइभीलाई प्रमुख चुनौतीका रुपमा राखेको उल्लेख गर्दै यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन । यसैगरी, सन्देशमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सन् २०१५ सम्ममा एचआइभी सङ्क्रमणलाई ५० प्रतिशत घटाउने र एड्सबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउने लक्ष्य पूरा गर्न कटिबद्घ रहेको उल्लेख गरेका छन ।
स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा एचआइभी रोकथाम, परीक्षण, उपचार, हेरचाह सेवामा लक्षित समुदायको पहँुच उल्लेखनीय रुपमा बढ्दै गएको बताउँदै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्यका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीव्र बनाउन जरुरी भएको बताएका छन ।
यस्तै दिवसकै अवसरमा दिइएको आफनो सन्देशमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा दीपेन्द्ररमण सिंहले सन् २०१५ सम्ममा एचआइभी सङ्क्रमित र प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै एचआइभी सङ्क्रमणको दरलाई घटाउँदै लैजाने सहश्राब्दी विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रगति उन्मुख भएको बताएका छन । नेपालमा ३९ हजार २१४ मानिस एचआइभीको सङ्क्रमणमा रहेको अनुमान छ, जसमा २५ हजार ४४९ पुरुष, १३ हजार ८०० महिला रहेको केन्द्रको तथ्याङ्क रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु