भरतपुरमा डेंगु सार्ने लामखुट्टे अत्यधिक

२०७२ मंसिर १७ गते, बिहीबार

काठमाडौ, १७ मंसिर । चितवनको भरतपुरका ५७४ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले हालै गरेको ‘लार्भा खोज र नष्ट गर’ अभियानका क्रममा २३ हजार ९३० घरघुरी मध्ये ५७४ घरमा डेंगु पोजिटिभ पाईएको हो । यहाँ कुल २३ हजार ९३० घरका ६० हजार ७२३ वटा भाँडामा स्वयंसेवकहरु पुगेर प्रत्यक्ष अनुगमन गरेका थिए । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरिक्षक रामकुमार केसीले आज दिएको जानकारी अनुसार ५७४ घरका ६० हजार बढी भाँडा मध्ये ८९७ कन्टेनर तथा भाँडाहरुमा लार्भा र प्यूपा फेला परेकाले नष्ट गरिएको जानकारी दिनुभयो । गएको कार्तिक २२, २३ र २४ गते यहाँ डेंगु सार्ने लामखुट्टेको खोज र नष्ट गर अभियान सञ्चालन भएको थियो । सो कार्यक्रमको अनुगमन प्रतिवेदनबारे जानकारी दिंदै जनस्वास्थ्य कार्यालय चितवनका सुचना अधिकृत नरहरी शर्मा चापागाईले अभियानले डेंगु नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । उनका अनुसार १७८ वटा टायर, २३७ वटा प्लाष्टिक भाँडा, ११२ वटा टिनका भाँडा १५२ वटा ड्रम र २१८ अन्य गरेर ८९७ वटा भाँडाका लार्भा प्यूपा नष्ट गरिएको हो । यसपाली गएको साउनदेखि कार्तिक पहिलो सातासम्ममा ३२ जनामा डेंगु लागेको पाईएको थियो ।
यसपाली भने नपत्याउँदो ठाउँमा यस्ता लामखुट्टे र लार्भा, प्यूपा फेला परेका कार्यालयले जनाएको छ । अण्डा फुटाएर फ्याँकेको बोक्रा, केराको बुंगोको सुप्लामा समेत डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ । खानेपानी बोतलको फालिएको विर्काे जस्ता सानासाना भाँडा जहाँ पाँच एमएल भन्दा बढी पानी जमेको क्षेत्रमा डेंगु सार्ने लामखुट्टेका लार्भा भेटिएको स्वयंसेविका शुभद्रा श्रेष्ठले बताइन । भरतपुरका ९१ स्वयंसेवीका सहित स्वास्थ्यकर्मीहरु गरेर करिव एकसय ३५ जना अभियानमा खटाईएको थियो ।
अघिल्लो बर्ष कुल १ हजार ७७० जनाको परिक्षणमा ११९ जनामा डेंगु लागेको पाईएको थियो । एडिस एजेप्टाई नामको संक्रमित पोथि लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने गर्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । गमला, टायर तथा फालिएका प्लाष्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ जसबाट लामखुट्टेको विकास भई संक्रमित लामखुट्टेले टोकेमा यो रोग सर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु