जहाँ चिकित्सकले मदिरा सेवनका लागि सिफारिस गर्छन्
काठमाडौँ । भारतीय राज्य गुजरातमा ६१ हजार ३ सय ५३ जना यस्ता ‘विरामी’ छन्, जसको रोग मदिरा सेवन गरेर मात्र निको हुन्छ । त्यसैले राज्य सरकारको प्रोहिबिशन एण्ड एक्साइज विभागले उनीहरूलाई मदिरा सेवन गर्ने हेल्थ परमिट उपलव्ध गराएको छ । गुजरातमा सन् १९६० देखि मदिरामाथि प्रतिबन्ध छ । तैपनि त्यहाँ ६० हजारभन्दा बढी यस्ता मानिस छन् जोसँग शराव अर्थात मदिरा किन्ने र सेवन गर्ने लाइसेन्स छ । त्यसो त गुजरात महात्मा गान्धीको जन्मभूमि पनि हो । त्यसैले यहाँ कुनै पनि सत्ताधारी पार्टीले कहिल्यै पनि मदिरामाथिको प्रतिबन्ध हटाउने हिम्मत गरेका छैनन् । तर, शारीरिक र मानसिक रोगका आधारमा मदिरा सेवन गर्ने अनुमति राज्यले प्रदान गर्दछ । गुजरातमा मदिरामाथिको प्रतिबन्धका बावजुद मदिरा सेवन गर्नेहरूको कमी भने छैन । गुजरातसँग जोडिएको राजस्थान र दमण दीभबाट नियमित रूपमा अवैध रूपले मदिरा राज्यमा भित्रने गर्दछ । तर, राज्यमा कसैले मदिरा सेवन गर्न चाहे कानुनी रूपमा प्रोहिबिशन विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । यो परमिट प्राप्त गर्नका लागि शारीरिक या मानसिक रूपमा विरामी रहेको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था छ । जुन कुनै एमडी डाक्टरले जारी गरेको हुनुपर्छ । मदिरा सेवन गर्न चाहनेले यो प्रमाणपत्रसहित आयकर दस्तावेजसहित आवेदन दिएपछि मदिरा सेवन गर्ने अनुमति प्राप्त हुने गर्दछ । यति मात्र होइन, उक्त व्यक्तिको रोगको उपचार मदिरा सेवन मात्र हो भन्ने कुरा सिभिल अस्पतालका चिकित्सकले समेत प्रमाणि गर्नु पर्दछ । यद्यपि हेल्थ परमिटको माग गर्ने व्यक्तिलाई दैनिक कति मात्रामा मदिरा आवश्यक छ, यो पनि सिभिल अस्पतालका डाक्टरले तय गर्ने गर्दछन् ।
अहमदावादमा प्रोहिबिशन विभागका अधीक्षक एनसी सादरानीले बीबीसीलाई दिएको जानकारीअनुसार यदि हेल्थ परमिट माग्ने आवेदक गुजरात वा भारत सरकारमा आफ्नो सेवा प्रदान गरिरहेको छ भने उसले आफ्नो विभागको प्रमुखको तर्फबाट एनओसी अर्थात सहमतिको प्रमाणपत्रसमेत लिनुपर्ने हुन्छ । जोसँग मदिरा सेवन गर्ने हेल्थ परमिट छ, उनीहरूले राज्य सरकारको प्रमाणित लिकर शपबाट परमिटका आधारमा मदिरा खरिद गर्न सक्दछन् । सम्पूर्ण गुजरातमा ६१ हजार ३ सय ५३ जना र अहमदावादमा १२ हजार ८ सय ३ जनासँग यसप्रकारको मदिरा सेवन गर्ने अनुमतिपत्र रहेको बताइएको छ । जसले अनुमतिपत्रका आधारमा मदिरा सेवन गरिरहेका छन् । – एजेन्सी