एसएलसी दिने विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट पढाउने व्यवस्था
काठमाडौं, २४ मंसिर । शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी परीक्षा दिने विद्यार्थीका लागि रेडियो र टेलिभिजन मार्फत पढाउने व्यवस्था मिलाएको छ । केन्द्रले रेडियो नेपालबाट शुक्रबारदेखि र नेपाल टेलिभिजनबाट २७ गते आइतबारदेखि पढाउने जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार अनिवार्य सबै ६ वटै विषय अडियो र भिडियोमार्फत पढाइनेछ । भूकम्प र तराई–मधेसको आन्दोलन लगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई केन्द्रित गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको गौतमले बताए ।
रेडियोबाट पढाउने सामग्रीका लागि शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरेको छ । रेडियो नेपालबाट हेरक दिन बेलुकी साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ भने टेलिभिजनबाट हरेक आइतबार र सोमबार बेलुकी साढे ५ देखि ६ बजेसम्म आधा घण्टा पाठ्यक्रम प्रशारण गरिने छ ।
रेडियो नेपालमा भने पाठ्यक्रम पुनःप्रसारण गरिने छ । प्रसारण भएको भोलिपल्ट दिउँसो १ बजे पुनःप्रसारण गरिने गौतमले बताए । यो अभियानबाट तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने अनुमान गरिएको छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन् ।