साबधान ! धेरै ग्रीन टी नपिउनुस्
काठमाडौँ । तपाइँ स्वास्थ्य राम्रो हुने लोभमा धेरै नै ग्रीन टी पिउनुहुन्छ भने सावधान हुनुहोस् । ग्रीन टीले स्वास्थ्य राम्रो बनाउने मात्र होइन यसको नकारात्मक असर पनि हुन्छ । एक नयाँ शोधका अनुसार धेरै मात्रामा ग्रीन टी पिउनाले मानिसको प्रजनन क्षमताका नोक्सान पुग्न सक्छ । क्यालिफोर्निया इरविन विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अनुसन्धानले यस्तो देखाएको छ । उनीहरूले झिँगामा यो अनुसन्धान गरेका थिए । जसले धेरै ग्रीन टी खाएका झिँगाहरूमा प्रजनन क्षमतामा असर पुगेको देखाएको थियो । १० मिलिग्राम ग्रीन टी खुवाइएको पोथी झिँगाको प्रजनन क्षमतामा कमी आएको र उसको जिवनकाल पनि १७ प्रतिशतले घटेको शोधकर्ताले बताएका छन् । तर, भाले झिँगामा भने यस्तो असर देखिएन ।
शोधकर्ता सहप्राध्यापक महताब जाफरीका अनुसार ग्रीन टी को कम मात्रा लिनु स्वास्थ्यका लागि फाइदाजनक हुनसक्छ, तर धेरै मात्राको सेवनले खराब असर पूराउँदछ । ग्रीन टी को अधिक सेवनले शरीरका कोषिकाहरू मार्ने सम्भावना रहेको उनको भनाइ छ । यो सम्बन्धी अध्ययनले मुसा र कुकुरमा पनि गरिएको छ । त्यसक्रममा ग्रीन टी ले वजनमा कमी ल्याउने देखिएको छ । साथै ग्रीन टी ले भ्रुणको विकाशमा पनि नकारात्मक असर पार्ने तथ्य पत्ता लागेको छ । स्मरण रहोस् स्वस्थ मुटु, मस्तिष्क तथा क्यान्सर प्रतिरोधी गुणका लागि ग्रीन टी चर्चित छ । स्वास्थ्यप्रति सचेत हुने मानिसहरूले दिनहुँ ग्रीन टी पिउने गर्छन् ।