पूर्ण साक्षर योजना अपूर्ण
काठमाडौँ । सरकारको सन् २०१५ भित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने योजना पूरा नहुने भएको छ । सन् २०१५ सकिन हप्ता दिन पनि बाँकी नभएकाले सहस्राब्दी विकास लक्ष्य योजनाअनुसार नेपाललाई सन् २०१५ मित्र पूर्ण साक्षर घोषणा गर्ने सरकारको योजना पूरा नहुने भएको हो । अहिलेसम्म २० जिल्लालाई मात्र पूर्ण साक्षर घोषणा गरिएको छ । अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक विष्णुप्रसाद मिश्रका अनुसार अहिलेसम्म ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङजा, नवलपरासी, रुपन्देही, चितवन, अर्घाखाँची, प्युठान, गुल्मी, दाङ, सुर्खेत, नुवाकोट, पाल्पा, मुस्ताङ र भक्तपुर गरी २० जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन् । भूकम्पका कारण पनि तोकिएको समयमा लक्ष्य हासिल गर्न नसकिएको उनले बताए । अहिले केही जिल्ला पूर्ण साक्षर घोषणा भइसकेको र केही घोषणा हुने क्रममा रहेकाले आउँदो वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने उनको भनाइ छ । सरकारले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा धेरै नागरिक साक्षर भएमा पूर्ण साक्षर जिल्ला घोषणा गर्दे आएको छ । अहिले सरकारले विभिन्न जिल्लामा साक्षरता अभियान चलाइरहेको छ ।