बढ्दैछ जुम्ल्याहा जन्मिने दर
काठमाडौँ । अमेरिकामा पछिल्लो समय जुम्ल्याहा बच्चा जन्मिने दरमा वृद्धि भएको छ । अघिल्लो वर्ष सन् २०१४ अमेरिकामा जुम्ल्याहाको वर्षको रुपमा रहेको समेत पछिल्लो तथ्यांकले देखाएको छ । अमेरिकामा सन् २०१४ मा प्रति एक हजार बच्चामा ३३.९ जुम्ल्याहा बच्चा जन्मिएका छन् । अमेरिकामा जुम्ल्याहा बच्चा जन्मिएको यो दर अहिलेसम्मकै धेरै हो । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम विभागको रिपोर्टअनुसार सन् २०१४ मा अमेरिकामा प्रतिहजार ३३.९ जना जुम्ल्याहा बच्चा जन्मिए जुन सन् २०१३ मा ३३.७ थियो । वर्ष सन् १९८० मा अमेरिकामा प्रतिहजार बच्चामा १८.९ मात्र जुम्ल्याहा बच्चा जन्मिएका थिए । पछिल्लो ३६ वर्षमा जुम्ल्याहा जन्मको दर झण्डै दोब्बरले वृद्धि भएको देखिएको छ । लाईफ साइन्सेसको रिपोर्ट अनुसार शोधकर्ताहरुले जुम्ल्याहा बच्चाको बढ्दो संख्याका पछाडि दुइवटा मुख्य कारण खुट्याएका छन् । पहिलो केही महिलाहरुले कृत्रिम प्रजनन जस्तै टेष्टट्युब प्रविधि लगायतका विधि अपनाउनु र दोश्रो पाको उमेरमा गर्भाधारण गर्नु । वैज्ञानिकका अनुसार पाको उमेरमा गर्भाधारण गर्दा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना अधिक हुन्छ ।
अमेरिकामा सन् २०१४ मा ३ लाख ९८ हजार ८७६ जना बच्चा जन्मिए जुन सन् २०१३ भन्दा एक प्रतिशत बढि हो । सन् २०१३ मा भन्दा २०१४ मा जुम्ल्याहा बच्चाको संख्या बढि भएपनि तिम्ल्याहा बच्चाको संख्या भने कम छन् । सन् २०१३ मा तिम्ल्याहा बच्चाको संख्या प्रतिलाखमा ११९.५ रहेकोमा सन् २०१४ मा ११३.५ रहेको छ । प्रजनन उपचारमा परिवर्तनका कारण तिम्ल्याहाका साथै अधिक प्रजननदरमा पनि कमी आएको शोधकर्ताहरुको भनाइ छ ।