एसएलसी नमुना परीक्षा सुरु

२०७२ माघ ३ गते, आईतवार

काठमाडौं, ३ माघ । आजदेखि भक्तपुरमा नमुना एसएलसी परीक्षा सुरु भएको छ । सरकारले एसएलसी (प्रवेशिका) परीक्षामा यसवर्षदेखि लागु गरेको लेटर ग्रेडिङ्ग सिस्टमका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उदेश्यले सो नमुना परीक्षा सुरु गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुर अन्तर्गत रहेका विद्यालयबाट आउँदो चैत्त १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना एसएलसी परीक्षा सञ्चालन गरेको प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीलेबताए । लेटर ग्रेडिङ्ग सिस्टमका बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा रहेकाले त्यस्तो अलमललाई हटाएन सहयोग पुगोस् भन्ने उदेश्यले जिल्लामा १० वटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको उनले बताए ।
विद्यार्थीलाई परीक्षाको नतिजा तथा मार्कसिट समेत लेटर ग्रेडिङ्ग सिस्टम मै प्रदान गर्ने बताउँदै उपाध्यक्ष केसीले यो परीक्षा कक्षा १० को टेष्ट वा प्रिएसएलसी नभएको प्रस्ट्याए ।
यसैगरी राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) भक्तपुरले पनि माघ १४ गतेदेखि नमुना एसएलसी परीक्षा सञ्चालन गर्ने एनप्याब्सन भक्तपुरका अध्यक्ष जिवी खड्काले बताए । इसान भक्तपुरले पनि इसन अन्तर्गत रहेका विद्यालयका विद्यार्थीका लागि यसप्रकारको परीक्षा सञ्चालन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]