पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप दिइदै

२०७२ फाल्गुन १६ गते, आईतवार

काठमाडौं, १६ फागुन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । केही वर्षयता पाठेघरको मुखमा क्यान्सर हुने महिलाको संख्या बढेकाले रोकथामका लागि ९ देखि १३ वर्षसम्मका १५ हजार बालिकालाई एचपिभी नामक खोप दिन लागिएको महाशाखाले जनाएको छ । यौन सम्पर्कका बेला पुरुषबाट सर्ने भाइरसका कारण पाठेघरमा क्यान्सरको संक्रमण हुने भएकाले पहिलोपल्ट महिनावारी हुनु अघि नै बालिकालाई खोप दिन लागिएको खोप शाखाका प्रमुख मुकुन्द गौतमले बताए । उनका अनुसार पहिलो चरणमा चितवन र कास्कीमा कार्यक्रम सञ्चालन गरिनेछ । निःशुल्क रुपमा दिइने यो खोप दुई पटकसम्म लगाउनुपर्छ । पहिलो खोप लगाएको ६ महिनापछि दोस्रो लगाउनु पर्ने खोप शाखा प्रमुख गौतमको भनाई छ । नेपालमा पहिलो पटक दिइन लागेको यो खोप एक डोजको १० हजार रुपैयाँ पर्छ । दुई जिल्लाका बालिकालाई खोप दिइएपछि अरु जिल्लामा पनि विस्तार गर्ने तयारी छ । नेपालमा हरेक वर्ष १० हजार भन्दा धेरैलाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । त्यसमध्ये ढिलो उपचारका कारण ५० प्रतिशतको ज्यान जाने गरेको तथ्यांक छ ।

प्रतिक्रियाहरु

[anycomment]