विद्यालय भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु
काठमाडौ, १६ बैशाख । सरकारले आजदेखि विद्यालय भर्ना अभियानमा छुटेका बालबालिकालाई लक्षित गर्दै घरदैलो कार्यक्रम सुरु गरेको छ । विद्यालय भर्ना अभियानको क्रममा छुटेका बालबालिका पहिचान गर्न घरदैलो अभियान सुरु गरिएको शिक्षा विभागले जनाएको छ । विभागका महानिर्देशक खगराज बरालका अनुसार भर्ना अभियान चलाउँदा पनि भर्ना नभएका ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन घरदैलो कार्यक्रम गर्न लागिएको हो ।
अनिवार्य शिक्षाको लागि सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गर्दै आएकोमा ११ लाख भन्दा धेरै बालबालिका अझैपनि विद्यालय बाहिर रहेका उनले बताए ।
उनीहरुलाई नै शिक्षाको पहुँचमा ल्याउन सरकारले विभिन्न चेतनामुलक पनि गरिरहेको छ । चेपाङ्ग, दनुवार, घानुक, झाँगड, किसन, माझी, मुसीवदिया, थुनम, बरामु, बोटे, कुसुण्डा, लेप्चा, राजी, सतार, धामी लगायतका पिछडिएका वर्गलाइ शिक्षाको पहुँचमा ल्याउनु चुनौती देखिएको छ ।
गरिबीका कारण विद्यालय जाने उमेर समूहका बालबालिका शिक्षाको पहुँचमा पुग्न नसकेको भन्दै सरकारले छात्रवृत्ति, निशुल्क पाठ्यपुस्तक वितरण, दिवा खाजा लगायतका कार्यक्रम गर्दै आएकोमा यसवर्ष विशेष रुपमा चेतनामुलक कार्यक्रम गर्न लागिएको शिक्षा विभागले जनाएको छ ।