आवश्यकताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गराएको होः गृहमन्त्री
काठमाडौं, ४ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका नागरिकको स्वास्थ्य आवश्यकताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताएका छन् । ‘आवश्यकताले संरचनाको विकास गराएजसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको पनि स्थापना भएको हो, यसले हरेक चुनौती पार गर्दै उद्देश्यमा अगाडि बढिरहेको छ’ गृह मन्त्री बस्नेतले भने । मंगलबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको ‘पिछडिएको क्षेत्रमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम संचालनका लागि सम्भवना र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री बस्नेतले आवश्यकताबीचबाट स्थापना भएको प्रतिष्ठानलाई आवश्यक पर्ने सबै साधनस्रोत सरकारले पूरा गर्ने बताए ।
जुम्लाजस्तो अति विकट ठाउँमा स्थानपना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेको अवस्थामा आइपुग्नु ठूलो सफलता भएको बताउँदै प्रतिष्ठानलाई संसारकै सुन्दर र प्रतिष्ठित बनाउन आफू निरन्तर लागिरहने बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले प्रतिष्ठानलाई लक्ष्यमा पुर्याउन साझा पहल हुनुपर्ने बताए ।
कर्णाली क्षेत्र जस्तो पिछडिएको ठाउँमा स्थापना भएको प्रतिष्ठानलाई अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै आवश्यक नीति बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए ।
कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति पारस आचार्यले एमबीबीएस अध्ययनका लागि सम्भावना र चुनौति विषयबारे जानकारी पावरप्वाइन्टको माध्यमबाट कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानलाई लक्ष्यमा पुर्याउन सकेमा कर्णालीका नागरिकको सरदार आयू वृद्धि हुने बताए । उक्त कार्यपत्रमा अवलोकन गरेर प्रतिष्ठानका गतिविधिबारे जानकारी लिएका थिए ।
प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. धर्मराज श्रेष्ठले प्रतिष्ठानले हाल संचालन गरिरहेको शैक्षिक कार्यक्रमबारे जानकारी गराउँदै शुरु गर्न लागेको एमबीबीएसको सम्भावना र चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले स्थापनाकालदेखि अहिलेसम्मका गतिविधिबारे प्रकाश पार्दै एमबीबीएस कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए ।
त्यस्तै प्रतिष्ठानका निर्देशक डा. जावेद खानले प्रतिष्ठानद्वारा संचालित शिक्षण अस्पतालले दिइरहेको सेवा, सुविधा र जनशक्तिबारे जानकारी दिएका थिए । स्वास्थ्य निर्देशक डा. निरेश थापाले प्रतिष्ठानले दिइरहेको स्वास्थ्य सेवालाई पिछडिएको क्षेत्रका सबै नागरिकसम्म पुर्याउन सबै लाग्नुपर्ने बताए ।
प्रतिष्ठान स्थापना पहल समितिकाा संयोजक तथा पूर्वसभासद नरेश भण्डारीले प्रतिष्ठानलाई लक्षित समूदायमा पुर्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा पिछडिएका क्षेत्रका सांसदहरुले धारणा राखेका थिए । मोहन बानियाँ, भरत साउद, रीता शाही, जानकी साउद, डिल्ली काफ्ले, गोमा कुवँर, लालबहादुर रावल, बसुन्धरा रोकायलगायत प्रतिष्ठानलाई आवश्यक पर्ने नीतिनियम निर्माण तथा र बजेटको लागि आफूहरुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।