पुस्तकालय भवन पुनर्निर्माण कार्य अलपत्र

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौँ, ६ जेठ । नेपाल राष्ट्रिय पुस्तकालयको भवन पुनर्निर्माण हुन नसकेपछि पुस्तकहरु बोराभित्र कोचिएका छन् । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त ललितपुरस्थित हरिहर भवनमा रहेको पुस्तकालय भवनको पुनर्निर्माण हुन नसकेपछि त्यहाँ रहेका अधिकांश पुस्तक बोरामा हालेर थन्क्याइएका हुन् । पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाको अनुसार – भूकम्पका कारण भवन असुरक्षित भएपछि गतवर्षको जेठ १० देखि असार १५ गतेसम्म किताब सानो गौचरनस्थित महेन्द्र आदर्श माविको हलमा सारिएको थियो । उनले किताब हालसम्म सुरक्षित भएको जानकारी दिँदै किताब पुराना भएको हुनाले त्यो बिग्रन सक्ने सम्भावना धेरै रहेको बताए । पुस्तकालयको सङ्ग्रहमा तीन सय वर्ष पुराना पुस्तकसमेत रहेको बताइएको छ ।
ठूला व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै बनाइएको सो पुस्तकालयको बालबालिका कक्षमात्र सुरक्षित छ । ठूला व्यक्तिका लागि बनाइएको कक्षका पाँच हजार पुस्तक बोरामा बन्द गरी सबै पुस्तक सारिएको प्रमुख निरौलाले बताए । उनले तीन सय वर्ष पुराना संस्कृत भाषाका पुस्तक भने सुरक्षित राख्नुपर्ने हुन्छ किनभने अन्य पुस्तक त पाइन्छन् तर यस्ता संस्कृतका किताब भने कतै पनि नभएको जानकारी दिए । भवन निर्माणका लागि शिक्षा मन्त्रालयसँग बारम्बार आग्रह गरिरहेको जानकारी दिँदै उनले डेढ करोड उपलब्ध गराए पनि जग्गाको अभावमा भवन निर्माण कार्य अघि बढ्न नसकेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]