शिक्षामा छुट्याइएको बजेट अपुग
काठमाडौँ, १९ जेठ । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा यस वर्ष शिक्षामा छुट्याइएको बजेट शिक्षा सुधारका लागि अपुग हुने शिक्षा क्षेत्रका सरोकारवालाले गुनासो गरेका छन् । सरोकारवालाले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा बजेट घट्दो क्रममा रहेको बताउँदै यसले शिक्षा क्षेत्रमा गुणस्तर बढ्नेमा शङ्का व्यक्त गरेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले अघिल्ला वर्षको तुलनामा यस वर्ष शिक्षा क्षेत्रमा बजेट कम भएको बताउँदै भएको बजेटबाट गुणस्तरीय प्रतिफल निकाल्ने प्रयत्नमा लाग्नुपर्ने बताए ।शिक्षाको बजेटको करिब ८७ प्रतिशत शिक्षकको तलबमा खर्च हुने जानकारी दिँदै उनले शिक्षकले आफूलाई समयानुकूल प्रविधिमैत्री शिक्षा दिनसक्नु पर्दछ भने ।
शिक्षाविद् डा विष्णु कार्कीले नेपालमा आवश्यकताभन्दा बढी विद्यालय रहेको बताउँदै शिक्षामा नयाँ प्रविधिको प्रयोगका लागि बजेटमा व्यवस्था नभएको टिप्पणी गरे । उच्च माध्यमिक सङ्घ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको गुनासो गर्दै शिक्षा क्षेत्रको बजेट शिक्षकलाई तलब खुवाउँदैमा सकिने भएकाले यसबाट गुणस्तरीय शिक्षाको अपेक्षा गर्न नसकिने बताए ।
पद्मकन्या उच्च माविका प्राचार्य गीता तिवारीले जस्तो पनि भवन तथा स्थानमा विद्यालय खोल्ने प्रवृत्ति रहेको बताउँदै विद्यालय खोल्ने बेला त्यहाँको जनसङ्ख्यालाई पनि ध्यान दिन आग्रह गरे । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का उपाध्यक्ष दीपिका थापाले बजेटमा निजी विद्यालयलाई सरकारले बेवास्ता गरेको गुनासो गरे । अघिल्लो वर्ष कुल बजेटको १६.६७ प्रतिशत शिक्षा क्षेत्रमा बजेट रहेकोमा यस वर्ष ११.०९ प्रतिशत मात्र बजेट छुट्याइएको छ ।