शिक्षा मन्त्रालयका कारण हजारौ विद्यार्थीको बिजोग

२०७३ असार १५ गते, बुधबार

काठमाडौं, १५ असार । शिक्षा मन्त्रालयका कारण एसएलसी परीक्षामा ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीको बिजोग हुने भएको छ । मन्त्रालयले एसएलसी परीक्षामा ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीलाई के पढाउने भनी पूर्वतयारी नै नगरेका कारण लाखभन्दा धेरै विद्यार्थीले कुनैपनि विषय पढ्न नपाउने भएका छन् । ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीलाइ प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम केन्द्रअन्तगर्तको टेक्निकल एसएलसी पढाउने भनेता पनि २५ हजार विद्यार्थीलेमात्र पढ्न पाउने भएका छन् ।
शिक्षा मन्त्रालयले एसएलसी परीक्षामा सुरु गरिएको ‘लेटर ग्रेडिङ’ प्रणालीमा कोहिपनि विद्यार्थी फेल हुँदैनन् भने पनि हजारौं विद्यार्थीले उच्चशिक्षा पढ्न नपाउने भएका छन् ।
यस वर्षको एसएलसी परीक्षामा ६ लाख ५ सयभन्दा बढी विद्यार्थी सम्मिलित भएका थिए । जसमा ३ लाख ७० हजार विद्यार्थीलेमात्र उच्चशिक्षा पढ्न पाउने भएका हुन् । शिक्षामन्त्री गिरिराज मणि पोखरेलले ‘डी’ र ‘ई’ ग्रेड ल्याएका सबै विद्यार्थीले टेक्निकल एसएलसी पढ्न पाउने भन्दै आएपनि प्राविधिक तथा व्यवसायिक तालिम केन्द्रले ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीलाई पढाउने टेक्निकल संस्थाहरुमा २५ हजारकोमात्र कोटा रहेको बताएको छ । साथै एसएलसीमा राम्रो अंक ल्याएर पास गरेर सिटीइभिटीअन्तर्गतको डिप्लोमा पढ्नेका लागि २० हजार कोटा रहेको पनि बताएको छ ।
सरकारले पूर्वतयारी नै नगरी एसएलसीलाई ग्रेडिङ प्रणालीमा लगेको भन्दै आलोचना भइरहेकोबेला ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थी उच्चशिक्षाबाट बन्चित हुनुपर्ने अवस्था आएको हो ।
‘डी’ र ‘ई’ ल्याउने विद्यार्थीहरुलाई टेक्निकल एसएलसी पढाउने भनिएपनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रसँग ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीलाई पढाउने पर्याप्त कोटा छैन । तर, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने यस वर्ष ‘डी’ र ‘ई’ ल्याएका कति विद्यार्थी टेक्निकल एसएलसी पढ्न आउँछन् त्यो हेरेरमात्र अरु कक्षा थप्ने योजना बनाउने बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]