शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिककर्जा !

२०७३ श्रावण २९ गते, शनिबार

काठमाडौं, २९ साउन । एनएमबी बैंकले इन्जिनियरिङमा स्नातक (बीइ) अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर शैक्षिककर्जा दिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ र एनएमबी बैंकबीच शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न कर्जा दिने योजनासम्बन्धी समझदारी भएको हो । शैक्षिक कर्जा सम्बन्धी सहमतिपत्रमा शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र कलेजका अध्यक्ष विष्णुप्रसाद शर्माले हस्ताक्षर गरे ।
हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्न चाहने इन्जिनियरिङका विद्यार्थीले यो सुविधा पाउनेछन् । सुरुमा २५ जना छनोटमा परेका जेहेन्दार एवं गरिब विद्यार्थीले यस्तो सुविधा पाउने सहमति भएको हो । बैंकले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म सहुलियत ऋण दिने जनाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत पौड्यालले प्राविधिक शिक्षाबाट बिनाधितो शैक्षिककर्जा सुरु गरिएको बताए । विद्यार्थीले ४ वर्षसम्म ऋण पाउने छन् । तर, राष्ट्र बैंकको नियमअनुसार समयमै ब्याज भने तिर्नुपर्ने जनाइएको छ । ऋण तिर्ने अवधि पहिलो चरणमा ४ र त्यसपछि पनि ४ वर्ष थप्न सकिने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]