क्यान्सर अस्पताल सुधारोउन्मुख

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौँ, ३१ साउन । अस्तव्यस्त बनेको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनको हस्तक्षेप पछि विस्तारै सुधार हुँदै गएको छ । गत जेठ पहिलो साता अस्पतालमा विचौलिया नियन्त्रणबाट थालिएको सुधार अभियान दुई महिना कट्दा नकाट्दै यसको प्रभाव सकारात्मक देखिएको हो ।
अस्पतालमा बिरामी छिर्न नपाउँदै विचौलिया तान्न आइपुग्ने, अस्पतालको कार्यालय समयमा चिकित्सक र कर्मचारी नबस्ने, स्वयम् चिकित्सक कर्मचारी विचौलियासँग मिलेमतो गरी आफ्नो निजी अस्पताल, क्लिनिक, फार्मेसी, ल्याबमा बिरामीलाई जान दबाब दिने, अस्पतालका उपकरण बिगारेर निजीमा सिफारिस गरी रकम असुल्ने जस्ता गतिविधिका कारण अस्पताल अस्तव्यस्त भएको थियो ।
स्थानीय प्रशासनले बाहिरी विचौलियासँगै अस्पतालभित्रैका पाँच जना कर्मचारीलाई विचौलियाको काम गर्दागर्दै पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस यता नियमित रुपमा स्थानीय प्रशासनले निगरानी गरिरहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुन स्थानीय प्रशासनको सहयोगपछि अस्पतालमा धेरै सुधार आएको बताए । उनले भने “पहिले दैनिक बढीमा रु तीन लाख आम्दानी हुन्थ्यो, अहिले दैनिक रु छ लाख ७५ हजारसम्म आम्दानी पुगेको छ ।” एमआरआइ मेसिन बिग्रिएको छ, बनेपछि आम्दानी थप रु एक लाख बढ्ने पुनले बताए ।
अस्पतालमा सुधार आएको भन्दै पुनले भने “पहिले डाक्टर, कर्मचारी खोज्दा पनि पाउन मुस्किल हुन्थ्यो, अहिले बिहान र बेलुका हाजिरको थम प्रिन्ट गर्न पूरै लाइन लाग्ने गर्दछ ।”
अस्पतालमा सिटिस्क्यान र रेडियोथेरापी अतिरिक्त समयमा सञ्चालन गर्नसकेमा अस्पतालको आम्दानी बढ्ने र बिरामीले सुविधा पाउने देखिएको छ । अहिले दैनिक १५-१६ वटा सिटिस्क्यान हुँदै आएको छ । अतिरिक्त सेवा दिँदा एकै दिनमा ५७ वटासम्म सिटिस्क्यान भएको अस्पतालले जनाएको छ । चिकित्सक र सहयोगीले अतिरिक्त भत्ता लिए पनि बिरामीले सेवा पाउने र अस्पतालको आम्दानी बढ्ने हुँदा सञ्चालक समितिबाट निर्णय गराएर पुनः अतिरिक्त सेवा दिने तयारी गरिएको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]