स्वास्थ्यमन्त्री थापाद्वारा विस्तृत कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौं, १६ भदौ । स्वास्थ्यमन्त्री गगन थापाले आगामी एक सय दिनभित्रको कार्ययोजनासहितका कार्यक्रमहरु ल्याउन मातहतका विभाग तथा कार्यालयहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयमा विहीबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री थापाले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्न चाहेको भन्दै विस्तृत कार्ययोजना पेश गर्न आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री थापाले शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले उठाउँदै आएका मागहरुलाई पनि सकारात्मक ढंगले सम्बोधन गर्ने पनि बताए । उच्चपदस्थ अधिकारीलाई सकेसम्म स्वदेशमै उपचार गराउन बाध्य गराउने गरी कार्ययोजना ल्याउने तयारी भैरहेको भन्दै उनले यो विषयमा मेडिकल बोर्डसँग गम्भीर ढंगले छलफल गर्ने बताए ।