स्ववियु चुनाव सम्पन्न गर्न कार्यदल गठन
काठमाडौँ, १७ भदौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा आज बसेको विभिन्न १० विद्यार्थी सङ्गठनले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी सङ्गठनका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनले मेडिकल अध्ययनरत ४५ प्रतिशत वर्गीकृत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न सरकार र सरोकारवालासँग माग गरेको छ ।
यसैगरी भूकम्पपीडित प्रभावितहरुको जनजीवनलाई व्यवस्थित बनाउन तत्काल सरकारले पहल गर्नुपर्ने, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको बजारभाउ तथा गुणस्तर र यातायातका साधनमा बढिरहेको अस्तव्यस्त हटाई सु–व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम नेपाललगायत रहेका छन् ।