डा. केसीद्वारा पुन आठ दिने अल्टिमेटम

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौं, २५ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई आफ्नो माग पुरा गर्न पुन आठ दिने अल्टिमेटम दिएका छन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. केसीले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारलाई आगामी असोज २ गतेसम्मको अल्टिमेटम दिएका हुन् । उनले आज विज्ञप्ति जारी गर्दै चिकित्सा ऐनमा सुधार र माथेमा आयोगको प्रतिवेदन विपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायतका विषयमा चलखेल सुरु भएको भन्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।
डा. केसीको विज्ञप्तिमा विभिन्न षड्यन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौता अविलम्ब कार्यान्वयन गर्न असोज २ गतेसम्मको अल्टिमेटम दिइएको उल्लेख छ । उनले हाल भइरहेका चलखेल रोकेर आफ्ना सुझावसहित चिकित्सा ऐन पारित गर्ने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की तथा आयुक्त राजनारायण पाठकमाथि महाभियोगको प्रक्रिया अघि बढाउनेलगायत सरकार र आफूबीच भएको पछिल्लो सम्झौताका सबै बुँदा कार्यान्वयन नभए असोज ३ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् ।
प्रा. डा. केसी यसअघि आठ पटक आमरण अनसन बसिसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]