विद्यालयमा बम विस्फोट गराउने पक्राउ

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौं, ४ असोज । प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोट गराउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोट गराउने दुईजनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्वीकार गरेको जानकारी गराए । ‘यसअघि पनि उनीहरुलाई हामीले यस्तैखालको आरोपमा पक्राउ गरेका थियौ’–उनले भने–‘उनीहरुबारे थप अनुसन्धान हुँदैछ । चाँडै नै घटनाको सबै विवरण सार्वजनिक गर्छौं ।’
‘पक्राउ परेका दुबैजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका कार्यकर्ता भएको पाइएको छ’ भन्दै प्रहरी उपरीक्षक थापाले ‘केन्द्र र फोर्सका कार्यकर्ताले आज बिहान उपत्यकाका दुईओटा निजी विद्यालयमा बम विस्फोट र अरु पाँच निजी विद्यालयमा शंकास्पद वस्तु राखेको’ बताए ।
उनीहरुले बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोट गराएका थिए भने जोरपाटीको राई बोडिङ स्कुल, इस्टपोल स्कुल, ललितपुरको रेडियन्ट रिडर्स एकेडमी स्कुल, डल्लुको कन्चनजङगा बोडिङ स्कुल र जोरपाटीकै बालसंसार बोडिङ स्कुलमा प्रेसरकुकर बम र शंकास्पद वस्तु राखिएको भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले बम विस्फोटको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग विद्यालयको सुरक्षा माग गरे ।
केन्द्र र फोर्सले विद्यालयमा फ्याँकेको पत्रमा निजी विद्यालयले वार्षिक दुई लाख ४० हजारभन्दा कम आय हुने तथा चल–अचल सम्पत्ति रु २० लाख भन्दामुनि हुने अभिभावकका छोराछोरीलाई निःशुल्क पढाउनुपर्ने, निजी र सरकारी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निजी विद्यालयले तोकेको स्थानबाट शैक्षिक सामग्री तथा ड्रेस किन्नुपर्ने बाध्यतालाई तुरुन्तै अन्त्य गर्नुपर्ने, आर्थिक अभावका कारणबाट शिक्षाबाट बन्चित हुने व्यवस्था अन्त्य हुनुपर्नेलगायतका ८ सुत्रीय माग अघिसारेका छन् ।
यसैबीच , विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएको छ ।
बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार नै संयुक्त प्रेस विज्ञप्ती निकालेर विद्यालयमा बम आतंक फैल्याउने अर्थात यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरे ।
शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो । सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुखद भएको टिप्पणी गरे ।
कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]