प्याराग्लाइडिङ कक्षा सञ्चालन
काठमाडौँ, १५ कात्तिक । बाबु एडभेन्चर स्कूलले स्याङ्जाको स्वरेक र ब्लु स्काइ फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरिरहेका छन् । प्याराग्लाइडिङ उडानमा विदेशी पाइलटको भर पर्दै आएको नेपालको पर्यटन क्षेत्रले स्वदेशी पाइलट उत्पादन थालिएको हो । पाइलट उत्पादन थालेका स्कुलले अबको पाँच वर्षमा पर्याप्त जनशक्ति तयार पार्ने व्यवसायी बताउँछन् । नेपालमा अहिले दुईवटा स्कुलले पाइलटलाई प्रशिक्षण दिईरहेका छन् । ती स्कुलमा करिब ५० जना युवा–युवती प्रशिक्षणमा रहेको प्रशिक्षकहरुले बताएका छन् ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायतका विश्वका उच्च हिमालहरूबाट प्याराग्लाइडिङ गरी विश्वमा कीर्तिमान कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कूल सञ्चालन गरिरहेका हुन् । नेपालको पहिलो स्कुल बाबु एडभेन्चरका संचालक तथा मुख्य प्रशिक्षक सानोबाबु सुनुवारले अहिलेको गतिमा जनशक्ति उत्पादन हुँदै गएमा पाँच वर्षमा विदेशी विस्थापित हुने बताउँछन् ।
स्याङ्जा र तनहुँमा संचालित स्कुलमा अहिले स्वदेशीमात्र नई विदेशी पनि प्याराग्लाइडिङ सिक्न आएका छन् । नेपाल प्याराग्लाइडिङ सिक्न र उड्नका लागि आकर्षक गन्तव्य बन्न थालेको उनले बताए । पोखरामा अहिले ६२ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । व्यवसायीका अनुसार सिजनमा पोखरामा एकैदिन ३ सय जना पर्यटक प्यराग्लाइडिङ गर्ने गर्दछन् । पोखरामा प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायः सबै महिना प्याराग्लाइडिङ सञ्चालन भईरहेको फ्लाइङ बुद्धका संचालक तारानाथ पहारी बताउँछन् ।
नेपालको भौगोलिक अवस्थासँगै उपयुक्त मौसमले प्रशिक्षणका लागि उपयुक्त रहेको सिक्न आएका विदेशी विद्यार्थी बताउँछन् । दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । पोखराको प्याराग्लाइडिङमा चिनियां र स्वदेशी पर्यटकको आकर्षण रहेको छ ।