एमबीबीएसका विदेशी छात्रवृत्ति बीचबाटै गायब
काठमाडौं, १ मंसिर। नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन् । केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबीबीएस अध्ययनका लागि पाँचजनाको छात्रवृत्ति उपलब्ध गराएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले विद्यार्थीको नाम मनोनयन गरी पठायो पनि । तर ती मध्ये दुई विद्यार्थी अहिले अलपत्र परेका छन् ।
शिक्षा मन्त्रालयले इजिप्टमा एमबीबीएस अध्ययनका लागि रमेशकुमार जोशी, विपिनकुमार पौडेल, रामवरण राउत, शिवानी सत्यम र इन्दिलाकुमारी यादवलाई छनोट गरी पठाएको थियो । तीमध्ये राउत र यादवले इजिप्टमा भर्ना हुन पाएका छैनन् । स्रोतका अनुसार विदेशस्थित नेपाली दूतावासका कारण कतिपय छात्रवृत्ति हराउने गरेका छन् । अध्ययनका लागि लाखौं खर्च लाग्ने एमबीबीएस, इन्जिनियरिङ विषयको छात्रवृत्तिमा यस्तै समस्या हुन्छ ।
शिक्षा मन्त्रालयका अधिकारीका अनुसार छात्रवृत्ति प्राप्त गरे पनि आफूहरुको सीधा सम्पर्क नहुने र त्यसको सबै काम परराष्ट्र मन्त्रालयमार्फत हुने भएकाले समस्या हुने गरेको छ ।
‘नेपाललाई दिएको छात्रवृत्तिमा शिक्षा मन्त्रालयले छनोट गरेर पठाउने र दूतावासका अधिकारीले त्यसमा आफ्ना मान्छेसमेत हाल्ने गरेको पाइन्छ,’ मन्त्रालय स्रोतले भन्यो । – नयाँ पत्रिका दैनिकबाट