महिलामैत्री सञ्चार निर्देशिका बन्दै

काठमाडौं, ३० मंसिर । प्रेस काउन्सिल नेपालको आयोजनामा आज राजधानीमा “सञ्चारमाध्यमले पालना गर्नुपर्ने महिलासम्वन्धी निर्देशिका तथा पत्रकारितामा महिलाको अवस्था र चुनौति” विषयक अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा बोदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले मिडिया अझैं महिलामैत्री हुन नसकेको धारणा राख्दै सामाजिक चेतनाको लागि सशक्तरुपमा कलम चलाउनुपर्ने र पत्रकारितामा महिलाको सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिए ।
सञ्चारमाध्यमलाई बढी जिम्मेवार र जवाफदेही बनाई महिलाहिंशाको निराकरण गर्न सञ्चारमाध्यमले पालना गर्नुपर्ने महिलामैत्री पत्रकार आचारसंहिताको मस्यौदा प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधरले गोपनियताको विषयलाई पेशासंग जोडेर समाचार बनाईनु नहुने भन्दै महिलाको मर्यादा, सामाजिक इज्जतमा आँच पुग्ने कार्यको निर्मूल गर्न आचारसंहिता जारी गर्न लागेको धारणा व्यक्त गरे ।
पत्रकारितामा महिला पत्रकारको अवस्था र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै मीरा राजभण्डारीले नेपाली पत्रकारितामा महिलाको उपस्थिति र सुरक्षा चुनौति थप जटिल बन्दै गएको बिचार व्यक्त गरिन । प्रस्तुत कार्यपत्रमाथि गोरखापत्र दैनिकका प्रधान सम्पादक पुस्कर माथेमाले टिप्पणी गरे भने अग्रज पत्रकार चक्रपाणी नेपाल, मानब अधिकार सञ्चार प्रतिष्ठानका अमृता लम्साल, पत्रकारहरु सुनिल महर्जन, प्रेम कुमारी घले, शंकर खनाल, राधा चालिसे र प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाई, मुख्य अधिकृत झविन्द्र भुसाल लगाएतले विचार राखेका थिए । कार्यक्रम संचालन सह प्रशासकीय अधिकृत दीपक खनालले गरेका थिए । – महेन्द्रराज सिंह