कारागारभित्र मनोसामाजिक अस्पताल

२०७३ पुष २२ गते, शुक्रबार

काठमाडौं, २२ पुस । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बन्ने भएको छ । कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि सो अस्पताल बनाउन लागिएको बताइएको छ । पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ । अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले बताएको छ । मानसिक अस्पताल लगनखेलमा रहेकाले पनि विभिन्न जिल्लाबाट मानसिक रोगी नख्खु कारागार सरुवा भएर आउने गरेका छन् । विभिन्न जिल्ला कारागारमा रहेका मानसिक रोगीलाई कारागार व्यवस्था विभागले नख्खु कारागारमा सरुवा गरेर पठाउने गरेको जेलर टेकबहादुर केसीले बताए ।
नख्खु कारागारमा आएपछि मानसिक रोगको उपचार पाएर धेरै जना बिरामी निको भएका आन्तरिक प्रशासनका कर्मचारी बताउँछन् । कारागारबाटै मानसिक अस्पताल पुगेर र कारागारमा नियमित औषधि खाएर बिरामी सामान्य अवस्थामा फर्केको जेलर केसी बताउछन ।
सरकारी नियमअनुसार ११५ जना क्षमताको नयाँ भवन गत वर्षदेखि सञ्चालनमा आएपछि कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको छ । कारागारमा २५० जना क्षमताका दुई ब्लकसमेत निर्माण हुने भएको छ । एकसयजना क्षमताको महिला कारागारको समेत काम अघि बढेको छ । अहिले यहाँ ६५० को हाराहारीमा कैदीबन्दी रहेको कारागारले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु