केयु उपकुलपतिमा पुनः मकाजू नियुक्त
काठमाडौ , ७ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा रामकण्ठ मकाजूलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले माकाजूलाई नियुक्त गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । उनका अनुसार माकाजूलाई आज नै नियुक्ति पत्र दिइने छ । लामो समयदेखि रिक्त पदमा दुई साताअघि उपकुलपति सिफारिस समितिले माकाजूसहित पाँचजनाको नाम सिफारिस गरेको थियो । गत मंसिर २६ देखि माकाजूको चार वर्षे कार्यकाल सकेपछि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो । शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले माकाजू, भद्रमान तुलाधर, मनप्रसाद वाग्ले, भोला थापा र जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो । ऐनमा भने एकजनाको नाममात्र सिफारिस गर्नुपर्ने व्यवस्था रहेपनि पाँच जनाको नाम सिफारिस भएको थियो । माकाजू यसअघिको कार्यकालमा मेडिकल शिक्षामा बेथिति भित्र्याएको भन्दै विवादित बनेका थिए ।