इपीएस परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव
काठमाडौं, ५ फागुन । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव नेपालले अघि सारेको छ । चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाले जानाएको छ । शाखाका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भइरहेको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।
शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन । यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता हट्नेछ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ ।
आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो । अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।