आज विश्व धूमपानरहित दिवस
काठमाडौं, १७ जेठ । आज विश्व धूम्रपानरहित दिवस ,धुम्रपानका कारण स्वास्थ्यमा पार्ने असर र त्यसले निम्त्याएको क्षतिबारे सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदैछ । सूर्तिजन्य पदार्थको नेपाल लगाएत विश्वका धेरै मुलुकमा बिक्रि वितरणमा सरकारले चर्को कर लगाएपनि ब्यापारमा भने कमि आएको देखिन्न । नेपालमा सूर्तिजन्य पदार्थको सेवनाका कारण बार्षिक २५ हजार मानिसको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
नेपालमा नसर्ने रोगको तथ्याङ्क ४२ प्रतिशत हुँदा धूमपानका कारणले पहिले वर्षेनि १५ हजारको मृत्यु हुने गरेको भएपनि पछिल्लो तथ्याङ्कले भने २५ हजार नेपालीको मृत्यु हुने गरेको देखाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वर्षेनि ७० लाख मानिसको मृत्यु हने गरेको अवस्थामा समेत त्यसको नियन्त्रणतर्फ सम्बन्धीत निकायहरुको ध्यान जान सकेको छैन । सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी भएका मानिसहरुले नै यसको प्रयोग गर्नु र सेवन गर्न छाड्न नसक्नु नै यसको मुख्य कारणको रुपमा देखिएको छ ।
सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदयरोग लगायतका रोगको सिकार हुनुपर्ने भएकाले यसको असरका विषयमा जनचेतनामूलक कार्यक्रमहरु बढाउनु पर्नेमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले जोड दिएका छन ।
विश्वका हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान समेत गरेको छ ।