खानेकुरा किन चपाएर खाने ?
सामान्यतया मानिसहरु खानेकुरा राम्रोसँग चपाएर खानुपर्छ भन्ने कुरालाई त्यति ध्यान दिँदैनन् तर पाचनक्रियाको लागि यो धेरै महत्वपूर्ण आधार हो । जब हामी पाचनक्रियाको कुरा गर्छौं, यसको प्रसङ्ग पेटबाट सुरु हुन्छ । तर, वास्तवमा खाने कुरा पेटमा नपुग्दै पाचन क्रिया सुरु भएको मानिन्छ । अतः जब हामी मुखबाट खाना खान सुरु गर्छौं, सँगसँगै पाचन क्रिया सुरु हुन्छ । खाना चपाउन सुरु गर्दा मुखमा ¥यालसँगै पाचन इन्जाइम निस्केर खाना टुक्राउन सहज हुन्छ । आजको भागदौडको समाजमा मानिसहरुसँग खाना खाने पर्याप्त समय हुँदैन, त्यसकारण खाना चपाएर खानुपर्ने नियमलाई त्यति महत्व दिइँदैन । अतः पाचन क्रियालाई मजबुत बनाउनका लागि, शरीरको उचित तौल तथा पोषणतत्व कायम गर्नाका लागि खानेकुरा राम्ररी चपाएर खानुपर्ने विभिन्न कारणहरु बुझ्न आवश्यक छ ।
१) भिटामिन, खनिज र अन्य पोषणतत्वको अवशोषणलाई वृद्धि गर्न ः जब हामीले खानेकुरालाई राम्रोसँग चपाएर खान्छौँ, खाना मसिनो गरी टुक्रिन्छ र पोषणतत्वलाई आन्द्राले सहज रुपले अवशोषण गर्दछ । उदाहरणको लागि बदाम र काँचो तरकारीहरुलाई जुन पेटमा गएर टुक्र्याउन गाह्रो हुन्छ, तिनीहरुलाई राम्ररी चपाउनु आवश्यक हुन्छ । खाना चपाउँदै गर्दा हाम्रो पाचन प्रणालीले खाना आगमनको सूचना प्राप्त गर्दछ । जसले गर्दा पाचन प्रणालीले पेटभित्र एक किसिमको एसिड बनाउँछ, जुन खानेकुरा पचाउन र शरीरलाई पोषणतत्व प्रदान गर्न आवश्यक छ ।
२) चपाएर खाँदा मासिनको स्वास्थ्य तौल कायम हुन्छ । जति लामो समय मानिसले खानेकुरा चपाइराख्छ, त्यतिकै धेरै समय खान सक्न लाग्छ । जो मान्छे ढिलो खान्छन्, तिनीहरुले थोरै खान्छन् । साथै, खानासँगै हाम्रो मस्तिष्कमा एउटा सूचना प्रवाह भइरहेको हुन्छ । तर, यदि हामी हतारमा खाना खाइरहेका हुन्छौँ भने, खाना सकिएपछि पनि हाम्रो मस्तिष्कले हामी अघाएको सूचना प्राप्त गर्न सक्दैन । फलस्वरुप हामीले आवश्यकताभन्दा बढी खाना खाँदै जान्छौँ र यसबाट शरीरमा क्यालोरीको वृद्धि भई तौल बढ्ने अधिक सम्भावना हुन्छ ।
३) बढी समय खाना चपाउँदा खाना र पाचनग्रन्थीको धेरै मिश्रण हुन पाउँछ । खानालाई राम्रोसँग टुक्र्याउन पाचन ग्रन्थीको प्रमुख भूमिका हुन्छ । चिल्लो पदार्थलाई काट्न यो ग्रन्थी आवश्यक हुन्छ । अतः खानालाई लामो समयसम्म चपाउँदा मुखको ¥यालसँगै निस्कने उक्त इन्जाइम खानामा राम्रोसँग मिसिन पाउँछ र खानाको चिल्लो पदार्थलाई यसले नियन्त्रण गर्दछ । यदि उक्त चिल्लो पदार्थ राम्रोसँग टुक्रिन पाएन भने मानिसलाई पाचनसम्बन्धी समस्या सुरु हुनसक्छ । साथसाथै, राम्ररी चपाएको खाना चिल्लो हुने भएकाले हाम्रो खाद्यनली (इसोफेगस) हुँदै पेटसम्म पु¥याउने काम पनि सहज हुन जान्छ ।
४) राम्ररी चपाइएको खाना चपाउन कम शक्तिको प्रयोग हुन्छ । अन्यथा खाना पचाउन हाम्रो शरीरलाई धेरै शक्तिको आवश्यकता पर्दछ । यदि खानेकुरा राम्रोसँग चपाइएन भने हाम्रो पाचन प्रणालीलाई थप भार पर्ने गर्छ र खाना टुक्राउन बढी शक्ति खर्च हुन्छ । राम्रोसँग चपाइएको खानेकुरा सम्पूर्ण पाचन अङ्गमा सजिलै प्रवाहित हुन सक्दछ । जसले गर्दा हाम्रो पेटले राम्रोसँग खाना चपाउने कार्य गर्न सक्छ ।
५) राम्ररी चपाउँदा हाम्रो दाँत पनि स्वस्थ रहन सक्छ । यसैगरी, दाँतलाई अड्याउने हड्डी र गिजा पनि मजबुत हुन्छ । खाना चपाउँदा निस्कने ¥यालले मुखमा हुने ब्याक्टेरियालाई पनि सफा गर्दाछ । त्यसरी नै दाँतमा अड्केका खानाका टुक्रालाई हटाएर मुखलाई शुद्ध राख्छ । जब मुखमा ब्याक्टेरियामुक्त हुन्छन्, दाँत सड्ने, गल्ने डर पनि रहँदैन ।
६) पेटमा हुने ब्याक्टेरियालाई नियन्त्रण गर्छ । जब हामी खानेकुरा राम्ररी चपाउँदैनौँ, पेटमा खानाका ठूला टुक्राहरु रहन्छन्, जसले गर्दा सहजरुपमा पाचन क्रिया हुन गाह्रो हुन्छ । जब खाना राम्रोसँग टुक्रिँदैन, पाचन पर्याप्त हुँदैन र नपचेको खानाबाट ब्याक्टेरिया पैदा हुन गई निम्न समस्याहरु देखिन्छन् । जस्तै– ग्याँस बढ्ने, पेट फुल्नु, पखाला, कब्जियत आदि ।
७) चपाएर खानाले खानाको स्वादलाई बढाउँछ । जब हामी हतारमा खाना खान्छौँ, खानाको स्वाद राम्रोसँग महसुस हुँदैन वा हामीलाई भोक लागिरहन्छ । हुन त खाना खाने समय हतारमा गर्नु हुँदैन, आरामका साथ खानुपर्छ । तर, धेरै मानिसहरु हतारमा खाना खान्छन् । र, विस्तारै यो नै उनीहरुको बानी पर्छ । यो बानीलाई सुधार गर्न मानिसले आफ्नो सोचाइमा परिवर्तन ल्याउनुपर्छ । हुन त खाना कति पटक चपाउने वा कसरी खाने भन्ने कुनै सूत्र त हुँदैन । तर, पनि खानाको किसिम र बनावट हेरी धेरै समय लगाएर राम्ररी चपाएर खानु नै उत्तम हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, जबसम्म खाने कुरा चपाएर झोलजस्तै हुँदैन, तबसम्म चपाइराख्नुपर्छ र विस्तारै यो नै मानिसको बानीमा परिणत हुन्छ । त्यसकारण खानालाई विस्तारै रमाएर स्वादसँग खाऔँ । हतारमा खाएर स्वास्थ्यमा खेलबाड नगरौँ । ठोस खाद्यवस्तुलाई झन् राम्ररी चपाएर पिउने बानी बसालौँ । – वासुदेव वाग्ले