महानगरको ‘घर–घरमा स्वास्थ्य सेवा’ स्थगित
काठमाडौं, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घर-घरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत असार १५ गते उक्त अभियान सुरु गरेको थियो । अभियान सुरु गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नियमितरुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने घोषणा गरेका थिए ।
मन्त्रालयबाट चिकित्सक, स्टाफ नर्स, अनमी र अहेव गरी करिब एकसय जनाको टोली आएपनि गत असार मसान्तबाट उनीहरुको काज अवधि सकिएकाले हाल सेवा स्थगित गरिएको कामपाका सहप्रवक्ता नवराज ढकालले बताए ।
कामपाले वीर अस्पताल र शिक्षक अस्पतालसँग समन्वय गरिरहेकाले आगामी १० दिनभित्रमा पुनः काम सेवा शुरु गरिने उनले जानकारी दिए ।
महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एंव उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले सो अभियान सुरु गरेको हो ।
काठमाडौं महानगरमा बसोबास गर्ने कुनैपनि ज्येष्ठ नागरिकले रकम अभावमा रोग लुकाएर बस्नु नपरोस् भनेर कामपाले सेवा सुरु गरेकोले पुनः सन्चालन हुने कामपाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले बताए ।
यस अभियानमा पहिलोपटक सम्पूर्ण ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य अवस्था जाँच गर्दै तथ्यांक संकलन गरिनेछ । त्यससँगै ज्येष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रासँगै आधारभूत स्वास्थ्य जाँच गर्ने र प्रत्येक चार–चार महिनामा नियमित रुपमा पुनः चेक जाँच गर्नेछ ।
महानगरको ३२ ओटै वडालाई आठ ओटा क्षेत्रमा विभाजन गरी उक्त सेवा प्रदान गरिएको थियो । यी प्रत्येक क्षेत्रमा चारजनाको दरले जनशक्ति परिचालन गर्दा दैनिक ३२ जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।
यस किसिमले थालनी गरेको ज्येष्ठ नागरिक स्वास्थ्य उपचारले उनीहरुको जीवनयापन उत्साहजनक हुने आशा कामपाले लिएको छ । – रासस