अनसनरत डा.गजुरेलको स्वास्थ्य अवस्था कमजोर
काठमाडौँ, १६ असोज । आंशिक प्राध्यापक संघका अध्यक्ष डाक्टर महेशकुमार गजुरेलको स्वास्थ्य अवस्था कमजोर बनेको छ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै डाक्टर गजुरेल ६ दिनदेखि आमरण अनसनमा बसेका छन । अनसनका कारण उहाँको रक्तचाप मुटु र श्वासप्रश्वासमा समस्या देखिएको उनको स्वास्थ्यको निगरानी गरिरहेका डाक्टरलाई उद्धृत गर्दै आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले जानकारी दिए ।
६ दिनदेखि आमरण अनसन बस्दा पनि सरकार र त्रिभुवन विश्वविद्यालयका कुनै पदाधिकारीले चासो समेत नराखेको संघले जनाएको छ । अब पनि माग पुरा नगरे आन्दोलनलाई अझ सशक्त बनाउने तयारी गरिरहेको संघका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र भण्डारीले बताए ।
सरकार र त्रिभुवन विश्वविद्यालयले माग पुरा गर्न चारपटकसम्म सम्झौता गरेपनि कार्यान्वयन नगरेपछि आंशिक प्राध्यापक संघका अध्यक्ष समेत रहेका डाक्टर गजुरेल दशैको फुलपातीदेखि त्रिविको केन्द्रिय कार्यालय कीर्तिपुरमा आमरण अनसनमा बसेका हुन । आंशिक प्राध्यापाकले ६५ दिनसम्म रिले अनसन, धर्ना जुलुस लगायतका शान्तिपुर्ण विरोध मार्फत माग पुरा गर्न आग्रह गरेपनि सुनुवाई नभएपछि आमरण अनसनमा बस्नुपरेको संघको भनाई छ ।