आज विश्व बाथरोग दिवस
काठमाडौं, २६ असोज । आज १२ अक्टोबर अर्थात ‘विश्व बाथरोग दिवस’ । ‘ढिला नगरौंः आजै आवद्ध होऊँ’ भन्ने नारा साथ विविध कार्यक्रम गरी यो दिवस मनाइदै छ । विज्ञानको भाषामा ‘आर्थराइटिस’ भनिने बाथरोग जोर्नी सुन्निने र दुख्ने समस्या हो । यस्तो समस्या बढ्दो उमेरसँगै बढ्ने गर्छ । यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका मानिसमा देखिने गर्छ । बदलिँदो जीवनशैली, जंकफुडको सेवन, खानामा पोषणतत्वको कमि तथा घण्टौंसम्म कम्प्युटरमा बस्नाले पनि उक्त रोग लाग्ने गर्छ । सोही कारण युवापुस्तामा पनि यो रोग देखिने गरेको छ । डब्लूएचओका अनुसार विश्वका करिब ५० लाख मानिस बाथरोगबाट पीडित छन् । करिब ३० हजार बालबालिका बाथरोगसम्बन्धि कुनै न कुनै समस्याबाट पीडित छन् । परिणामस्वरुप विश्वमा हुने विभिन्न शारीरिक अपांगताको प्रमुख कारणमा बाथरोग पहिलो नम्बरमा पर्ने गरेको छ ।