‘फ्रोजन बायोब्सी’ परीक्षण पुनःसन्चालनमा

२०७४ पुष ७ गते, शुक्रबार

काठमाडौं, ७ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको ‘फ्रोजन बायोब्सी’ परीक्षण पुनःसन्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे/नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन ‘फ्रोजन बायोब्सी’ प्रविधि उपयोगी हुने गर्छ । अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा.सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नु पर्ने हो जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ । शल्यक्रिया कक्षबाट परीक्षणका लागि पठाइएको मासुलाई माइनस २० डिग्रीमा चिसो बनाएर कडा पारिन्छ । श्रेष्ठले भनिन्, ‘त्यस्तो मासुलाई परीक्षण गरी क्यान्सर भए/नभएको हेरिन्छ । जसले गर्दा मासुको कति भाग काटेर फाल्ने भन्ने जानकारी लिन शल्यक्रिया गर्दै गरेको चिकित्सकलाई सहज हुन्छ ।’ ३० देखि ४५ मिनेटभित्र नमूना परीक्षणको नतिजा शल्यक्रिया गरिरहेको चिकित्सकलाई दिइने उनले बताइन् । शल्यक्रिया गर्दै गरेको बिरामीमा क्यान्सर नपाइएमा जे समस्या हो त्यसको मात्र शल्यक्रिया गरिन्छ भने क्यान्सर देखिएमा क्यान्सरले छोएको सबै र केही परसम्मको मासुको भाग काटेर फालिन्छ । अस्पतालको स्थापनासँगै केही वर्ष यो परीक्षण गरिएको भए पनि पछि उपकरण बिग्रिएपछि १० वर्षदेखि यो परीक्षण रोकिएको थियो ।
यसैगरी, अस्पतालले उच्च प्रविधिबाट पाठेघरको पानीको परीक्षण (एलबीसी) पनि थालेको छ । डा.श्रेष्ठका अनुसार यो प्रविधिले पाठेघरको मुखमा क्यान्सर भए÷नभएको सहजै पत्ता लाग्ने गर्छ । सामान्य प्रविधिबाट पाठेघरको मुखको पानी परीक्षण गर्दा पानीमा रगतको मात्रा मिसिएर तन्तु प्रष्ट नदेखिने भए पनि उच्च प्रविधिबाट परीक्षण गर्दा रगत हटेर तन्तुहरु प्रष्ट देखिने गर्छन् । यसअघि सामान्य परीक्षणमा रगतले तन्तु ढाकेर नतिजा उल्टो आउने समस्या आएको भए पनि अहिले यस्तो समस्या हटेर गएको उनले बताइन् । अस्पतालमा प्रसूतिको बहिरंग सेवा भएका दिन २० जना हाराहारीको परीक्षण हुने उनले बताइन् । हप्तामा तीन दिन प्रसूति बहिरंग सेवा हुँदै आएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले अस्पतालमा नर्बेजियन परियोजनाले उपलब्ध गराएको तर थन्किएर बसेको उपकरणलाई प्रयोगमा ल्याएसँगै १० वर्षदेखि हुन नसकेको फ्रोजन वायोब्सी सेवा सुरु गरिएको बताए । पाठेघरको मुखको क्यान्सर परीक्षण भरपर्दो बनाउन अस्पतालको आफ्नै स्रोत साधन परिचालन गरी एलबिसी परीक्षण थालिएको उनले बताए । सरकारी तबरबाट यी दुवै सेवा भरपर्दोरुपमा आफूहरुले मात्र उपलब्ध गराएको उनको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार