अखिल क्रान्तिकारीद्वारा चार कलेजमा तालाबन्दी
काठमाडौं, १६ माघ । अनेरास्ववियु (क्रान्तिकारी) दाङले तुलसीपुरमा रहेका चार शैक्षिक संस्थामा ताला लगाएको छ । नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई झुटो बोलेर पैसा असुल गरिरहेका शैक्षिक संस्थाहरुमा तालाबन्दी गरेको हो ।
संगठनका दाङ सचिव अमर खड्काका अनुसार २० हजारदेखि ५० हजारसम्म शुल्क लिनुपर्ने ठाउँमा ६० हजारदेखि एकलाखसम्म रकम विद्यार्थीबाट असुलेको पाइएपछि तालावन्दी गर्नुपरेको खड्काले बताए।
सिटीईभिटीबाट मान्यता प्राप्त त्यस्ता शैक्षिक संस्थाहरुले सर्ट ट्रम र टिएसएसी मात्रै पढाउने गरेको भएपनि भ्रम छर्न उनीहरुले इञ्जिनेरिङ कलेज लेखेर ब्रह्मलुट गरेको अखिल क्रान्तिकारीले बताएको छ । डिप्लोमा नपढाउने शैक्षिक संस्थाहरुले कलेज लेख्न नपाउँने भएपनि उक्त संस्थाहरुले ‘इञ्जिनियरिङ कलेज’ लेखेर विद्यार्थी ठगिरहेको अखिल क्रान्तिकारीको दाबी छ । नेसनल स्किल टेष्ट बोर्डको तीन महिनादेखि एक वर्षमा सकिने कार्यक्रमहरु लम्ब्याएर १८ महिनासम्म पुर्याउने र विद्यार्थी ठग्दै अाएका थिए । जिल्लामा संचालित दिप शान्ति प्राबिधिक शिक्षालय, मिड वेस्ट प्राबिधिक शिक्षालय, राप्ती युनाईटेड लगायतका शैक्षिक संस्थाहरुमा अखिल क्रान्तिकारीले अनिश्चितकालका लागि तालाबन्दी गरेको हो । दश महिनामा सकिने कार्यक्रमहरु विद्यार्थी ठग्नकै लागि १८ महिनासम्म लम्बाइएको व्यापक गुनासो आएपछि विद्यार्थीको आग्रहमा तालावन्दी गरेको अखिल क्रान्तिकारीले बताएको छ ।