नौ वर्षदेखि एक्स-रे मेशिन प्रयोगविहीन
काठमाडौं ,११ चैत । स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको एक्स-रे मेशिन चलाउने प्राविधिक नभएर नौ वर्षदेखि प्रयोगविहीन भएको छ । तेह्रथुमको आठराई गाउँपालिकास्थित संक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा नौ वर्षदेखि एक्स–रे मेशिन प्रयोगविहीन भएर थन्किएको बताइएको छ । स्वास्थ्य केन्द्रमा दुई वटा एक्स रे मेसिन छन् तर दक्ष प्राविधिक नहँदा मेशिन प्रयोगविहीन भएको हो ।
२०६५ सालमा स्वास्थ्य सेवा महाशाखाले पठाएको एक्स-रे मेशिन नै प्रयोगमा नआएका बेला अर्को आएपछि अन्योल भएको छ । मेशिन भएर पनि प्रयोगमा नआउँदा तेह्रथुमको आठराई र फेदाप तथा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका बासिन्दाले सेवाविहीन बनेका छन् । स्थानीयवासी भने एक्स रे सहितको भरपर्दो स्वास्थ्य सेवा लिन पाँचथर हुँदै झापा, मोरङ र सुनसरीका सुविधासम्पन्न अस्पतालसम्म पुग्न बाध्य छन् । मेशिन सन्चालन गर्न आठराई गाउँपालिकाले समेत कुनै चासो देखाएको छैन ।