अस्पतालमा तोडफोड

२०७५ माघ २१ गते, सोमबार

काठमाडौं,२१ माघ । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि तोडफोड भएको छ । मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । बालक जेनीसलाई पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको थियो । तर अस्पतालको गलत उपचारले बालकको ज्यान गएको भन्दै गएराति आफन्तले अस्पतालमा ढुंगामुढा गर्दै तोडफोड गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षमा समेत क्षति पुगेको छ । अस्पतालका झ्याल, ढोका र आकस्मिक कक्षका मोनिटर तोडफोड भएको छ । बालकको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयले अस्पतालका चिकित्सक र कर्मचारीलाई समेत हातपात गर्न खोजेपछि रातभर अस्पतालमा प्रहरी परिचालन गरिएको थियो । आक्रोसित भीड नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । अस्पताल प्रशासन, पीडित पक्ष र जनप्रतिनिधिबीच गएराति भएको छलफलसमेत निष्कर्षमा पुगेको छैन । तीनै पक्षबीच आज पनि छलफल गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु