शैक्षिक आन्दोलनमाथिको दमनकारी हर्कत रोक्न चेतावनी

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले संगठनको केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेलाई सरकारले षडयन्त्रपूर्वक कायरतापूर्ण तरिकाले बिनारकारण गिरफ्तार गरेको भन्दै भत्र्सना गरेको छ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी नेता न्यौपानेलाई बिनाकारण अपहरण शैलीमा गिरफ्तारको जनाउँदै घोर भत्र्सना गरेका हुन् । नेता न्यौपानेलाई हिजो मंगलबार बाँकेको चिसापानीबाट संगठनको काममा रहेकै बेला प्रहरीले अपरहण शैलीमा गिरफ्तार गरेको थियो ।
संगठनप्रति देशैभरबाट बढिरहेको साथ, समर्थन र सहभागिताबाट आत्तिएर सरकारले संगठनमाथि प्रतिबन्ध लगाउने दुरासायबाट नेताहरुमाथि दमन र धरपकड साथै झुठा मुद्दा लगाउने हर्कतमा ‘सामाजिक दलाल पूँजीवादी–फासीवादी सरकार’को निर्देशनमा प्रहरीप्रशासन लागेको अध्यक्ष ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विद्यार्थी नेता न्यौपानेलाई तत्काल निसर्त ससम्मान रिहा गर्न र षडयन्त्रपूर्ण दमनकारी हर्कत बन्द गर्न माग गरिएको छ । न्यौपाने संगठनको भेरी संयोजक समेत हुन् । नेता पुष्प राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी तथा शैक्षिक चरम व्यापारीकरण तथा निजीकरणको विरुद्धमा सशक्त रुपमा संघर्षरत रहँदै आइरहेको देखेर त्यसबाट अतालिएर सरकारले गिरफ्तार र झुठा मुद्दाको प्रपञ्च र घृणित षडयन्त्र बाहेक अन्य केही नभएको अध्यक्ष ढकालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
संगठन अहिले शैक्षिक विकृति र विसंगति साथै चरम नीजिकरणविरुद्ध शान्तिपूर्ण आन्दोलन रहेको जनाउँदै सरकारको दमनकारी हर्कतको प्रतिवाद गर्न समेत अध्यक्ष ढकालले विज्ञिप्तमार्फत सिंगो संगठन पंक्तिसँग अपिल गरेका छन् ।
‘सामाजिक दलाल फाँसीवादी सरकारलाई भन्न चाहन्छौं कि अहिले हामी शान्तिपूर्वक आन्दोलनमा छौं । त्यसैले हामीमाथिको दमनकारी हर्कत बन्द गरियोस्’ विज्ञिप्तमा भनिएको छ ‘कायरतापूर्वक गरिएको गिरफ्तारीको तत्काल र कडा संघर्षमार्फत प्रतिवाद गर्न सम्पूर्ण कमरेडहरुमा विशेष अपिल गर्दछौं ।’
संघर्षबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवार स्वयम् सरकार हुने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् । यसअघि संगठनको केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाइ संगठनको काममा खटिरहेकै बेला मोरङको विराटनगर विमानस्थलबाट माद्द १७ गते साँझ गिरफ्तार गरी २५ दिनपछि मोरङ जिल्ला अदालतको आदेशमा रिहा भएका थिए ।