च्याउ खानुको फाइदै छुट्टै

२०७५ चैत्र ९ गते, शनिबार

काठमाडौँ । हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ । सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने पत्ता लगाएको हो । मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे । तर, अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन् । न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा ६६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए । सन् २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो । छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा कग्नटिभ इम्पेअर्मन्ट (सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय) हुने सम्भावना घट्ने पत्ता लगाएका थिए । दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो । तर, हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो ।
माइल्ड कग्नटिभ इम्पेअर्मन्ट (एमसीआई) भनिने मध्यम खालको संज्ञानात्मक क्षय हुँदा मानिसहरू बिर्सिन थाल्छन् । यसले उनीहरूमा स्मृति एवम् भाषासम्बन्धी समस्या हुन्छ तथा उनीहरूलार्ई केही कुरामा ध्यान दिन वा कुनै वस्तु पत्ता लगाउन गाह्रो हुन्छ । तर यी परिवर्तनहरू थोरै मात्रामा भएका हुन सक्छन् । ‘डिमेन्श’ अर्थात् विस्मृति भनिहाल्नेगरी यी परिवर्तनहरू गम्भीर भने हुँदैनन् । अध्ययनमा सहभागी भएका व्यक्तिलार्ई उनीहरूले विभिन्न छ प्रकारका च्याउहरू ( ओइस्टर, शिटाके, ह्वाइट बटन, ड्राइड, गोल्डन र टिन्ड ( कति चोटि खाए भनेर सोधिएको थियो । च्याउ खानहरूले मस्तिष्कसम्बन्धी जाँचमा राम्रो परिणाम ल्याए । उनीहरूको मानसिक प्रक्रियाको गति पनि छिटो भएको पत्ता लाग्यो । अनि यस्तो परिणाम विशेष गरेर हप्तामा दुई चोटिभन्दा बढी अर्थात् कुल तीन सय ग्राम च्याउ खानेहरूमा पाइएको थियो । “यो अन्तरसम्बन्ध आश्चर्यजनक र उत्साहप्रद रहेको छ, “सो अध्ययनको नेतृत्व गरेका सहप्राध्यापक ली फेङ भन्छन् । “सामान्य रूपमा उपलब्ध हुने एउटा तत्वले सङ्ज्ञानात्मक क्षयमा नाटकीय प्रभाव पार्न सक्ने देखिन्छ ।” “तर हामी धेरै कारणहरू जस्तै चिया, हरिया सागपात, बदामजस्ता फल र माछाको मिश्रण लाभकारी हुनेबारे कुरा गर्दैछौँ ।” अनुसन्धानकर्ताहरूले च्याउ अर्गोथायोनिन नामक एन्टिअक्सिडन्ट र एन्टिइन्फ्ल्यामटरी गुण भएको तत्त्वको ठूलो स्रोत भएको इङ्गित गरेका छन् । सो तत्व मानिसको शरीरमा आफैँ बन्दैन। च्याउमा भिटामिन डी, सिलिनियम र स्पर्मिडिन जस्ता महत्वपूर्ण पोषक तत्व र खनिज पदार्थ पनि हुन्छन् ।
अध्ययनका लागि सहभागीहरूले आपूmले कति च्याउ खाए र अरू आहार कस्तो थियो भन्ने जानकारी उपलब्ध गराएका थिए । त्यो जानकारी यथार्थ नभएको हुन पनि सक्ने अनुसन्धानकर्ताहरूले स्वीकारेका छन् । अल्जाइमर्स सोसाइटीमा अनुसन्धान प्रमुख रहेका डा. जेम्स पिकेट भन्छन्, “विस्मृति हुन धेरै कारणहरू छन् । अनि झन्डै एकतिहाइ केस चाहिँ आहार र जीवनशैलीमा परिवर्तन गरेर रोक्न सकिन्छ ।” “विस्मृति मृत्युका प्रमुख १० कारकमध्ये एक हो । तर, मानिसहरूले त्यो जोखिम घटाउन केही गर्न सक्छन् । त्यसैले हामीले दिने परामर्श निरन्तर रूपमा धेरै अध्ययनबाट प्राप्त प्रमाणका आधारमा हुनुपर्छ । अनि एउटा अध्ययनको परिणामबाट बहकिनु हुँदैन ।” त्यसैले आफ्नो आहारमा फलपूmल, च्याउसहीत सागपात समावेश गराउनु राम्रो भएको उनको धारणा छ । हामीले चिनी र नुनको मात्रा घटाउनु, शारीरिक रूपमा सक्रिय रहनु, मदिरा पिउन नियन्त्रण गर्नु र धूमपान नगर्नु उत्तम हुने उनको सल्लाह छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु